पोखरा– उमेर सात दशक पुग्यो तर पनि सकी नसकी उकाली ओराली गर्दै अहिले मतदाताको घरदैलोमा पुगेका छन् वृद्ध उम्मेदवार शुक्रराज शर्मा ।


ADVERTISEMENT


प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शर्मा जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउने १९ दल र तीन स्वतन्त्रका ९५ उम्मेदवारमध्येका सबैभन्दा पाका ७० वर्षीय छन् ।


ADVERTISEMENT

# # #


प्रत्यक्षतर्फबाट एकपटक निर्वाचित हुने उनको धोको पूरा गर्ने आशामा सम्भवतः उनी अन्तिम पटकको उम्मेदवार हुन् । लामो समयसम्म कास्की कांग्रेसको नेतृत्वमा रहेर पार्टीको संगठन विस्तारमा विशेष योगदान पुर्याएका शर्माको यो उम्मेदवारी तेस्रोपटक हो ।

निडर, त्यागी र प्रष्ट वक्ताका रुपमा परिचित शर्माले प्रजातन्त्रको पुनर्वहालीमा लाग्दा पटक–पटक जेल सजायसमेत बिताएका छन् ।
शर्माले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै नेपाली कांग्रेसले २०५६ सालमा राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि उनी एक कार्यकाल सांसद बनेका थिए ।

आफ्नो जन्मथलो क्षेत्र नं ३ हालको अन्नपूर्ण गाउँपालिका–५ सल्यान भए पनि अघिल्ला चुनावमा बसाइँ सरेको क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धा गर्दा उनले पटक–पटक हार व्यहोर्नुपर्यो ।

आफ्नै जन्मथलो क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका शर्मा यसपालि भने विजयी हुनेमा ढुक्क छन् । उनको टक्कर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्मासँग हुनेछ । घरदैलो कार्यक्रममा उनले नेपाली कांग्रेसले जितेमात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धि तथा विकास हुने भएकाले कांग्रेसलाई जिताउन आग्रह गर्दै हिँडेका छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ८८ हजार ७१७ मतदाता रहेका छन् ।

सो क्षेत्रमा कास्कीको अन्नपूर्ण र माछापुच्छे गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिकाका वडा नं १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ पर्छन् । रासस