काठमाडौँ – आगामी अक्टोबर तेस्रो साता अष्ट्रेलियामा हुने हुने टी–२० क्रिकेट विश्वकपको ढोकाका रुपमा रहेको ग्लोबल छनोट समूह ‘ए’ प्रतियोगिता भोलिदेखि ओमानमा सुरु हुँदैछ ।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० क्रिकेट विश्वकप खेलेको थियो । करिब ८ वर्षपछि पुनः विश्वकपको रंगमञ्चमा उत्रिने नेपाली टोली नेपाली टोलीको सपना छ । तर, सपना देख्ने खेलाडीहरु भने नयाँ छन् । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा सहभागी ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र जितेन्द्र मुखिया मात्रै नेपाली नेपाली टोलीमा छन् । बाँकी सबै खेलाडी नयाँ छन् ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा हुने ग्लोबल छनोट समूह ‘ए’को उद्घाटन खेलमा शुक्रबार आयोजक ओमान र नेपाल भिड्दैछन् ।
युवाको काँधमा अभिभारा
युवा खेलाडीले भरिएको नेपाली टोलीको नेतृत्व युवा खेलाडी सन्दीप लामिछानेले गर्दैछन् । नेपाललाई दोस्रो पटक विश्वकप खेलाउने अभिभारा अहिले युवा खेलाडीको काँधमा आइपुगेको छ । किनकी नेपाल कप्तान सन्दीपसहित युवा ब्याटर आशिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, कमलसिंह ऐरी र विवेक यादवजस्ता युवा खेलाडीमा निर्भर छ । उनीहरुले गर्ने प्रदर्शनले नै नेपाल विश्वकप छनोटमा पुग्ने या नपुग्ने तय गर्नेछ ।
गत वैशाखमा मात्रै नेपाली टोलीमा स्थान बनाएका आशिफ शेख र कुशल भुर्तेलले पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका छन् । ग्लोबल छनोटमा उनीहरुले नेपाली टोलीको ओपनिङ गर्नेछन् । २५ वर्षीय कुशल र २१ वर्षीय आशिफ चलेको खण्डमा नेपाल कुनै पनि खेलमा सहज जित हात पार्न सक्छ ।
यस्तै मध्यक्रममा ब्याटर दीपेन्द्र सिंह ऐरी नेपाली ब्याटिङको खम्बा हुन् । ब्याट र बल दुबैबाट योगदान दिनसक्ने खुबी २२ वर्षीय दीपेन्द्र एक्लैले नेपाली टोलीलाई जित दिलाउने क्षमता राख्छन् । जुन उनले धेरै पटक प्रमाणित गरिसकेका छन् ।
यस्तै कप्तान सन्दीप लामिछानेको काँधमा नेपाली स्पिन बलिङको समेत जिम्मेवारी रहेको छ । विश्वका प्रतिष्ठित फ्रेन्चाइज्ड लिगमा समेत अनुभव संगालिसकेका उनी टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको प्रदर्शनले पनि नेपालको विश्वकप सपनालाई निर्देशित गर्नेछ ।
यस्तै भर्खरैमात्र टिममा स्थान बनाएका आक्रमक ब्याटर १८ वर्षीय लोकश बम र अलराउन्डर विवेक यादवसँग पनि नेपालले धेरै आशा गरेको छ ।
अनुभवी तीव्र गतिका बलर सोमपाल कामी बिना नै नेपाली टोली ओमान पुगेको थियो । तर, अर्का अनुभवी बलिङ अलराउन्डर करण केसी ढाडको समस्याका कारण विश्वकप छनोटबाट बारिएसँगै प्रतियोगिता पहिले नै झट्का लागेको छ । करणको स्थानमा युवा बलर गुल्शन झालाई नेपालबाट ओमान पठाइएको छ । करण र सोमपालको अनुपस्थितीलाई महसुस हुन नदिन २१ वर्षीय कमल सिंह ऐरी र १६ वर्षीय गुल्शनको काँधमा ठूलो जिम्मेवारी रहेको छ ।
चारदेशीय टी–२० सिरिजले कमजोरी पहिचान र सुधार
विश्वकप छनोट अघि नेपालले प्रमुख दाबेदार मानिएका आयरल्याण्ड, युएई र ओमानसँग टी–२० सिरिज खेल्यो । तीन मध्ये नेपालले एक खेलमात्रै जितेर अंक तालिकाको पुछारमा समेटिएको । पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएर नेपालले राम्रो सुरुवात गरेको थियो ।
तर, दोस्रो खेलमा युएईसँग २५ तथा अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भयो । सिरिज अघि नेपाललाई ब्याटिङमा बलियो टोली मानिएको थियो । तर, सिरिजमा नेपालको ब्याटिङ कमजोरी छताछुल्ल भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीबाहेक अन्य ब्याटर अपेक्षा गरेअनुसार प्रदर्शन गर्न असफल भए । बलिङ चल्दा ओमानलाई नेपालले १३५ रनमै रोकेको थियो । तर, नेपालले अन्तिम ओभरमा मात्रै उक्त लक्ष्य पूरा गर्यो।
दोस्रो खेलमा युएईले १९३ रन प्रहार गर्दा नेपाली बलरको प्रदर्शनबिर्सन लायक रह्यो । आयरल्याण्डलाई १२७ रनमै रोकेर नेपाली बलरले आफ्नो क्ष्ँमता प्रस्तुत गरे । तर, सामान्य लक्ष्य पाएको नेपाल २० ओभरमा १११ रनमै समेटियो । ब्याटर नचल्दा नेपाल जित्ने खेलमा पनि हार्न व्यहोर्न पुग्यो ।
चारदेशीय सिरिजमा सोचे अनुसारको प्रदर्शन नभए पनि खेलाडीले आफ्नो कमजोरी पहिचान गर्दै सुधार गर्ने अवसर पाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेको भनाई छ । उनी भन्छन्, ‘हो नतिजा अझ राम्रो हुन सक्थ्यो तर खेलाडीहरुले राम्रो क्रिकेट खेलेका छन् त्यसैले मलाई कुनै पनि सन्देह छैन । नतिजा पक्षमा नरहेता पनि हामी नजिक पुगेका थियौं।’
कप्तान सन्दिप लामिछानेले पनि चार देशीय सिरिज एकदमै प्रभावकारी भएको बताए । सिरिजले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई निखार्न र स्थानीय वातावरणमा घुलमिल हुन निकै फाइदा पुगेको उनले बताए । सन्दीपले भने, ‘बलिंग र ब्याटिंग सबै क्षेत्रमा हामी सुधारोन्मुख छौँ । यसले धेरै सकारात्मक कुराहरु निकाल्न सक्छ ।’
नेपाललाई विश्वकपका पुर्याउनु सबैको लक्ष्य हो : कप्तान सन्दीप
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ग्लोबल छनोटका लागि नेपाली टोली तयार रहेको बताएका छन् । प्रतियोगिताको अघिल्लो दिन आफ्नो भनाई राख्दै सन्दीपले विश्वकपमा पुग्ने सबैको लक्ष्य रहेको बताए । तयारी राम्रो गरेको र विपक्षी टिमको विश्लेषण समेत गरेकाले खेलाडीको क्षमता र चारदेशीय टी–२० सिरिजमा गरेको प्रदर्शनलाई हेर्दा विश्वकपमा पुग्न नेपाली टोली सक्षम रहेको बताए ।
आउने एक हप्ता नेपाली क्रिकेटका लागि एकदमै महत्वपूर्ण रहेको बताउँदै उनले विगत तीनचार दिनदेखि विभिन्न किसिमका तयारी गरेको र कुनै बहाना गर्ने ठाउँ नरहेको बताए ।‘हामी एउटा जुन उद्देश्य लिएर आएका छौँ, खेलाडीहरुको प्रदर्शन र तीन खेलमा गरेको प्रदर्शनको आधारमा हामी सक्षम छौँ जस्तो लाग्छ’ उनले भने, ‘सबैको अन्तिम लक्ष्य नेपाललाई विश्वकपमा पुर्याउने छ ।’
उनले ग्लोबल छनोटका सबै खेल उत्तिकै महत्वपूर्ण रहेको बताए । सन्दीपले भने, ‘हाम्रा लागि सबै खेल उत्तिकै महत्वपूर्ण भने । चाहे ओमान, क्यानडा होस् या फिलिपिन्स । भोलिदेखि नै सबै खेल महत्वपूर्ण छन् ।’
नेपाल विश्वकपमा पुग्नेमा मुख्य प्रशिक्षक आशावादी
नेपालका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल विश्वकपमा पुग्नेमा आशावादी छन् । तयारी राम्रो भएको र खेलदाडीहरुले पनि त्यही अनुसारको प्रदर्शन गरिरहेकाले नतिजा पनि राम्रो आउने उनको भनाई छ । ‘हामीले सोचेभन्दा पनि राम्रो तयारी भएको छ । तीन खेलमा हामीले सबै खेलाडीलाई मौका दिएकाले यहाँको वातावरणमा घुलमिल हुन सहयोग पुगेको छ ।’ उनले भने, ‘यी तीन खेलपछि पूरै टोलीमा आत्मविश्वास छाएको छ ।’
हामी राम्रो आकारमा छौँ । एक–दुई खेलाडीहरु घाइते भएता पनि उत्कृस्ट खेलाडीहरु हामीसंग छन्। ब्याटिंग समूह पनि राम्रो आकार लिँदैछन् । केही खालि ठाउँ भर्नुपर्ने छ । तर, मलाई विश्वास छ सबै त्यो पूरा गर्नेछन् ।
उनले नेपालको तीव्र गतिको र स्पिन बलर निकै राम्रो रहेको र योजनामा राम्रोसंग ढलिरहेको बताए । उनले थपे, ‘कुराहरु जसरी गैरहेको छ त्यसमा म निकै खुसी छु ।’
सहज छैन विश्वकपमा पुग्न
प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस्तै समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् ।
प्रत्येक समूहका टोलीले एक आपसमा खेल खेल्नेछन् । समूहका विजेता र उपविजेता टोलीले समेमिफाइनल खेल्नेछन् । नेपाल रहेको समूबाट आयोजक ओमानसहित नेपाल सेमिफाइनलका दाबेदार हुन् । एशोसिएट्स क्रिकेटमा ओमान पछिल्लो समय निकै बलियो भएको छ । घरेलू मैदानमै ओमानलाई हराउनु नेपाललाई सहज पक्कै हुने छैन । तर, चारदेशीय सिरिजमा ओमानविरुद्ध जित हात पारेको नेपालको मनोबल उच्च हुनेछ ।
समूह ‘ए’ मा पिलिपिन्स तुलनात्मक रुपमा कमजोर छ । तर, क्यानडा पनि बलियो भएर आएकाले सेमिफाइनलको यात्रा तय गर्न नेपालले क्यानडालाई हराउनै पर्नेछ । सेमिफाइनलमा अर्को समूहबाट टेस्ट राष्ट्र आयरल्याण्ड र युएई प्रमुख दाबेदार हुन् । ओमानलाई हराएमा नेपाल समूह ए को विजेता हुँदै सेमिफाइनल पुग्नेछ ।
फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । उता आयरल्याण्डले युएईलाई हराएमा समूह नेपालले सेमिफाइनलमा युएईको सामना गर्नुपर्ने हुन्छ । जुन नेपालका लागि अलि सहज हुन सक्छ । तर, आयरल्याण्डलाई युएईले चारदेशीय सिरिजमा हराइसकेकाले छनोटमा पनि नहराउला भन्न सकिँन्न । यस्तो अवस्थामा नेपालले सेमिफाइनलमा आयरल्याण्डको सामना गर्नुपर्ने छ । जुन नेपालका लागि युएईसँग भन्दा गाह्रो हुन सक्छ ।
सेमिफाइनलमा जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छनोट हुनेछ ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल र गुल्शन कुमार झा ।
नेपालको खेल तालिका
१८ फेब्रुअरी (फागुन ६) : ओमानविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
१९ फेब्रुअरी (फागुन ७) : फिलिपिन्सविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
२१ फेब्रुअरी (फागुन ९) : क्यानडाविरुद्ध अपरान्ह ३:४५ बजे (नेपाली समय)