काठमाडौं – युक्रेनमाथि रुसको सैन्य आक्रमणको सम्भावना अझै कायम रहेको र त्यसले विशाल मानवीय क्षति निम्त्याउन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।


ADVERTISEMENT


युक्रेन–रुस संकटबारे राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले मंगलबार रुसले सैन्य आक्रमण गरेमा त्यसको प्रतिवाद वा जवाफका लागि अमेरिका तयार रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


रुसले युक्रेनसँगको सीमा क्षेत्रमा हाल करिब एक लाख ५० हजार सैनिक तैनाथ गरेको अमेरिकी राष्ट्रपति बाइडेनले बताए । रुसी रक्षामन्त्रीले केही सैनिक फिर्ता भएको बताएका थिए । तर त्यसको आफूहरुका तर्फबाट पुष्टि हुन नसकेको बाइडेनले बताएका छन् ।

रुसी सैनिक सीमा क्षेत्रबाट फर्किनु संकट समाधानका लागि राम्रो हुने बताउँदै बाइडेनले तर अहिलेसम्म रुसी सैनिकहरु आफ्नो पुरानो अड्डामा फिर्ता भएको पुष्टि नभएको उल्लेख गरे ।

अहिले पनि रुसी सैनिकहरु निकै जोखिमपूर्ण अवस्थामा तैनाथ रहेको विश्लेषकहरुले बताएको बाइडेनको भनाइ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सुरक्षा चासोलाई गम्भीर रुपमा लिइनु पर्ने बताएको केही घण्टापछि बाइडेनको सम्बोधन आएको हो ।

बाइडेनले अमेरिका र आफ्ना सहयोगीहरु कूटनीतिक वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको र त्यसको सम्भावना कायम रहेको बताए । तर जोखिम अझै पनि रहेकाले अहिले नै रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्दैन भन्न सकिने अवस्था नरहेको बताए ।

रुसले आक्रमण गरेको खण्डमा प्रतिबन्धसहितका कडा उपायहरु अपनाइने उनले बताए। अमेरिका सिधै युद्धमा सामेल नहुने तर आत्मरक्षाका लागि युक्रेनलाई सहयोग गर्ने उनको भनाइ छ । तर रुसले अमेरिकीमाथि आक्रमण गरेमा त्यसको परिणाम जोखिमपूर्ण हुने चेतावनी पनि उनले दिएका छन् ।