काठमाडौं – झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT


शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् ।


ADVERTISEMENT

# # #


उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए । उनको कृति ‘बेलाईततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो ।

उनले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वर्णपदक थापेका थिए भने २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार हात पारेका थिए ।

शर्माको निधनले नेपाली साहित्यका पारखी र यसमा चाख राख्ने सबैमा अपूरणीय क्षतिकाे महसुस भएकाे छ । उनका शिष्य तथा परिवारजनले उनकाे निधनमा शोक मनाइरहेका छन् ।