सृजना मगर, काठमाडौँ– प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने यस दिनलाई मुख्यतयाः आजका युवापुस्ता एवम् किशोरकिशोरीहरुले आफ्नो प्रेम अभिव्यक्ति गर्ने सुनौलो अवसरका रुपमा लिएको पाइन्छ ।


ADVERTISEMENT


१४ फेब्रुअरी या भनौँ व्यक्तिहरु आफुले चाहेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिन । आफुले रोजेको मान्छेलाई आफ्नो मनको भावना व्यक्त गर्ने दिन । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइनको इतिहासलाई फर्केर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसंग सम्बन्धित छ । तत्कालिन रोमन सम्राट क्लाउडियस द्धितियले युवापुस्ता प्रेम र विवाहतिर तल्लीन हुँदा देशको सैनिक सेवा प्रभावित हुने र यसबाट सम्पूर्ण राज्य नै कमजोर हुने अवस्था आइपर्ने काल्पनिक विचारले प्रेम र विवाहलाई नै प्रतिबन्ध लगाएका थिए ।


ADVERTISEMENT

# # #


तर, त्यसै राज्यमा रहेको चर्चका एक पादरी भ्यालेन्टाइन भने प्रेमलाई भगवानले मानव जीवनमा दिएको वरदान मान्थे । तसर्थ सम्राटद्धारा सो उर्दी उनलाई मान्य थिएन । यसैकारण प्रेमलाई जीवन्तता दिनकै लागि उनले सम्राटको उर्दी विपरित लुकीछिपी प्रेमिल जोडिहरुलाई सामूहिक रुपमा विवाह गराइदिन थाले । भ्यालेन्टाइनको यो कुरा क्रमशः फैलँदै-फैलँदै सम्राटको कानसम्म पुग्यो । सजायस्वरुप: उनलाई पक्राउ गरी नजरबन्द गराइयो । र, फाँसीको सजाय समेत सुनाइयो । तर, यी सजाय सुनाइसक्दा कत्तिपनि विचल्लित नभएको भ्यालेन्टाइनलाई भेट्न जेलरका छोरी भेट्न जेलमा आइरहन्थिन् । एकअर्कालाई प्रेम गर्ने यी दुईबीचको माया पनि अत्यन्त प्रगाढ रहेको बताइन्छ ।  र, आफुलाई झुण्ड्याउनुअघि उनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनी एउटा नोट ती जेलरकी छोरीको हातमा थमाइदिए ।

अन्ततः सन् २६९ फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइनलाई फाँसी दिइयो । यसैअनुरुप सोहि अर्थात् आजका दिन आफ्ना प्रेमीहरुलाई आफ्नो मनको भाव सन्देशको रुपमा लेखेर दिइने वा अभिव्यक्ति गर्ने चलनकै रुपमा स्थापित हुन पुग्यो । उनलाई मृत्यु दिएको यसै दिनलाई उनको योगदानको स्मृतिमा ‘भ्यालेन्टाइन डे’ भनेर मनाउन थालिएको हो । यसरी प्रेमलाई महत्व दिएकै कारण ज्यान गुमाउन परेको उनको यस योगदानले प्रेमलाई कुनै पनि निश्चित नीति नियम एवम् कानुनले छेक्न सक्दैन र कसैलाई प्रेमबाट वञ्चित गर्नु मानव धर्म विरुद्ध हुन जान्छ भन्ने सन्देश दिएको छ ।

यस्तै, प्रेम गर्ने एक व्यक्तिले अन्य व्यक्तिको प्रेमलाई पनि बुझ्छ र स्वीकार गर्छ भन्ने उनको अर्काे सन्देश हो । यसरी त्यसयता प्रत्येक अंग्रेजी १४ फेब्रअरीलाई भ्यालेन्टाइनको रुपमा मनाउने परिपाटीको विकास भई यसको प्रभाव आज पूर्वीय समाजमा पनि उत्तिकै लोकप्रिय हुदैँ संस्कृतिकै रुपमा स्थापित हुने क्रममा देखिएको छ ।

भ्यालेन्टाइनको योगदान र आजको युवाले बुझेको प्रेम

आजका युवापुस्ता विशेषगरी किशोरकिशोरीहरुमा विपरित लिङ्गीप्रतिको आकर्षणलाई नै प्रेम मान्ने एक किसिमको मान्यताको विकास हुदैँ गएको देखिन्छ । उनीहरु क्षणिक रमाइलो र सम्मोहनलाई नै प्रेम ठान्छन् । यस्तै, प्रेमको नाममा उदार हुने क्रममा पछिल्लो युवापुस्ताले आफ्नो घरपरिवार, समाज एवम् संस्कृतिलाई नै भुल्दै गएको देखिन्छ । मानौँ की यी सबको विपरीत जानु नै साँचो प्रेमको परिभाषा हो ।

अझ कतिपयले त यसलाई आफ्नो स्वार्थको रुपमा पनि प्रयोग गरेको पाइन्छ । तर, प्रेम देखाइने नभई महशुस गरिने निस्वार्थ, आत्मीय एवम् भावनात्मक सम्बन्धको जालो हो । यसरी सरसर्ती हेर्दा भ्यालेन्टाइनले दिएको प्रेमको सन्देशलाई पछिल्लो पुस्ताले गलत रुपमा अर्थाइएको र बुझ्ने गरेको पाइन्छ । जसले भ्यालेन्टाइनको योगदानलाई नै गलत साबित गरिदिएको छ । तर, यसो भन्दैमा आजका कुनै पनि व्यक्तिले प्रेम गर्न जानेको छैन र ती सबैले गर्ने प्रेम गलत हो भन्ने भने पक्कै होइन । हुन त प्रेमको परिभाषा एवम् अभिव्यक्ति व्यक्तिपिच्छे फरक–फरक हुन्छ । यद्यपि हामीले के बुझ्नपर्छ भने, प्रेम क्षणिक एवम् आकर्षण नभई भावनाको स्थायी स्वरुप हो ।

जसले तपाईको अवस्था, व्यक्तित्व, हैसियत र बाहिरी आवरण हेर्दैन । बरु हेर्छ त केवल प्रेमिल मन । र, स्वतः स्वीकादिन्छन् तपाईका कमीकमजोरीहरु । र, त्यस्तो माया जहाँ प्रेम कुनै धर्म, जातजाति, नीति, नियम, कानुन र मापदण्डको दायरामा सिमित हुदैँन । वश् लिप्त भइरहन्छन्, एक आपसको प्रेमिल दुनियाँमा । र, जहाँ प्रेम हुन्छ त्यहाँ घृणा, भेदभाव, तिरस्कार तथा प्रतिशोधजस्ता नकरात्मक भावनाका छालहरु स्वतः बदर भइदिन्छन् । र, सञ्चार भइरहन्छन्, सकरात्मक ऊर्जाहरु ।

र, आउनुस्, आजका दिन आशासंगै प्राथना गरौँ सबैलाई आफु योग्य कदर गर्ने सम्मान मिलोस् । बाहिरी आवरणलेभन्दा भित्री श्रृङ्गारले श्रृङ्गार्ने दृष्टि मिलोस् । आफुलाई बुझ्ने मन मिलोस् । प्रकट गर्नै नपर्ने भावनाको जोडि मिलोस् । अन्त्यमा यहाँहरु सबैलाई आफुले चाहेकोजस्तो प्रेम मिलोस् । खोजेको जस्तै माया मिलोस् । ह्याप्पी भ्यालेन्टाइन्स डे !