काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले वर्तमान सरकारले देशको राजनीतिक र आर्थिक अवस्था ‘ब्ल्याक होल’तर्फ धकेलेको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गठन भएको ६–७ महिनामै आफ्नो सरकारले ल्याएको स्वणीय युग हराएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेपाललाई विश्व बैँकले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भनेको, हामीलाई एशियाली विकास बैँक (एडीबी) युनेस्को, विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको समेत दाबी गर्दै उनले आज ती दिन हराएको उल्लेख गरे ।

उनले भने, ‘६ महिना, ७ महिना बित्न पाउँदा नपाउँदै कहाँ गए ती दिन ? कता गयो त्यो स्वणीम युग ? कता हराए ती आशाका किरणहरु ? कता हरायो त्यो विश्वासको वातावरण ? आज भयावह, निराशा छ । एक ढंगले भन्ने हो भने यो सरकारले आर्थिक राजनीतिक हिसाबले ‘ब्ल्याकहोल’ तर्फ धकेलिरहेको छ ।’

उनले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असर र विचलनहरु देखा परेको उनले जिकिर गरे । गठबन्धन सरकार विदेशीहरुको लागि कम्फर्टेबल बन्ने वचनवद्धतासहित गठन भएको बताउँदै उनले नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुग्दा पनि चूप लागिरहेको र जानीबुझी पुर्याइरहेको दाबी गरे ।

उनले प्रश्न गरे, ‘कालापानी क्षेत्रमा एकतर्फी बाटो बन्दा बोल्दैन । जयसिंह धामी तुईन काटेर झराइन्छन्, बोल्ने हिम्मत राख्दैन नागरिकहरुको जीवनको सम्बन्धमा र नागरिकको ज्यान जान्छ, त्यस्तोको छानबिन गरेर दोषीमाथि कारबाही गर भनेर पनि भन्न सक्दैन । यो भन्दा पनि निरीहता, जनताप्रतिको गैरजिम्मेवारी के हुन सक्छ ?’

यस्तै अध्यक्ष ओलीले विभिन्न प्रदेशमा भइरहेको मन्त्रालय विभाजन गरी थप गरिएको प्रति आलोचना गरेका छन् । गठबन्धन टिकाउनका लागि संघ र प्रदेश सरकारले अनावश्यक रुपमा राज्यलाई भार पर्नेगरी संरचना निर्माण गरिएको बताए ।

उनले भने, ‘गठबन्धन टिकाउन संर प्रदेशमा जथाभावी संरचना निर्माण गरिएका छन् । प्रदेशमा कतै १८ वटा मन्त्रालय, कतै १४ वटा मन्त्रालय । उल्फाको धन फपूको श्राद्ध भन्ने नेपाली उखान जस्तो । के पायो, लूटमार चलेको छ । अर्थतन्त्र कुन अवस्थामा छ र क्रियाकलाप कतातर्फ जाँदैछ । यो भयावह छ ।’

सरकार गठन भएको ६ महिनामै व्यापार घाटा ५५ प्रतिशतले बढेर ८ खर्बभन्दा बढी पुगेको बताउँदै उनले विदेशी मुद्राको सिन्चिती निरन्तर घट्दै गएर साढे ६ महिनाको आयात धान्न नसकिने स्थिति विगत एक दशककै न्यूनतम बिन्दु रहेको बताए ।