काठमाडौँ – आगामी फेब्रुअरी १८ देखि ओमानमा सुरु हुने ‘टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोट ए’मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानमा १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली मंगलबार साँझ ओमान प्रस्थान गरेको हो ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक भर्चुअल कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको थियो । सो क्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टोलीलाई शुभकामना दिएका थिए ।
नेपालले ग्लोबल छनोटअघि घरेलू टोली ओमान, आयरल्याण्ड र युएईसँग टी–२० सिरिज खेल्दैछ । उक्त सिरिज तीन दिनपछि (फेब्रुअरी ११)देखि सुरु हुँदैछ । नेपालले सिरिजको पहिलो खेल घरेलु टोली ओमानविरुद्ध फेब्रुअरी ११ (शुक्रबार) अपरान्ह ३ः४५ बजे खेल्ने तालिका छ ।
यस्तै नेपालले ग्लोबल छनोटको पहिलो खेल पनि ओमानविरुद्ध नै फेब्रुअरी १८ (फागुन ६ गते) दिउँसो ११ः४५ बजे खेल्ने तालिका रहेको छ ।
विश्वकपमा कसरी पग्छ नेपाल ?
यसपटक ग्लोबल छनोटमा आईसीसीले १६ टोलीलाई ८–८ गरी दुई समूहमा विभाजन गरेको छ । नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । अहिले समूह ‘ए’को छनोट हुने लागेको हो ।
समूह ‘ए’का ८ टोलीलाई पनि ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ आयोजक ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस्तै समूह ‘बी’ आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा एक अर्कासँग भिड्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् । यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको नेपाली टोली दोस्रो पटक विश्वकप खेल्ने सपनासहित ओमान उडेको छ ।
ग्लोबल छनोटका लागि यस्तो बन्यो १७ सदस्यीय नेपाली टोली
१. सन्दीप लामिछाने
२. कुशल भुर्तेल
३. आसिफ शेख
४. दिपेन्द्र सिंह ऐरी
५. ज्ञानेन्द्र मल्ल
६. शरद भेषावकर
७. आरिफ शेख
८. करण केसी
९. जितेन्द्र मुखिया
१०. अविनाश बोहरा
११. शाहव आलम
१२. कुशल मल्ल
१३. कमल सिंह ऐरी
१४. विवेक यादव
१५. प्रदीप ऐरी
१६. लोकेश बम
१७. सागर ढकाल
नेपालको टी–२० सिरिजको खेल तालिका
११ फेब्रुअरी (माघ २८) : ओमानविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)
१२ फेब्रुअरी (माघ २९) : युएईविरुद्ध अपरान्ह ११ः४५ बजे (नेपाली समय)
१४ फेब्रुअरी (फागुन २) : आयरल्याण्डविरुद्ध अपरान्ह ३ः४५ बजे (नेपाली समय)
नेपालको ग्लोबल छनोटको खेल तालिका
१८ फेब्रुअरी (फागुन ६) : ओमानविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
१९ फेब्रुअरी (फागुन ७) : फिलिपिन्सविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)
२१ फेब्रुअरी (फागुन ९) : क्यानडाविरुद्ध दिउँसो ११ः४५ बजे (नेपाली समय)