काठमाडौं –  युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता संघसंस्थालाई थप क्रियाशील बनाउन लागेको हो ।


ADVERTISEMENT


खेलकुदलाई व्यावसायिक बनाई यस क्षेत्रको विकासका आयामलाई अघि बढाउन यस क्षेत्रका विभिन्न संघसंस्थाको भूमिका निकै महत्वपूर्ण रहने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी बताउँछन् । विज्ञको समूह र असल खेल व्यस्थापनको अनुभव हुने भएकाले खेलकुदको एकीकृत विकास त्यस्ता संस्थाबाट होस भन्ने हेतुले विभिन्न संघसंस्थालाई प्रवर्धन गर्दै व्यवस्थापन र गुणस्तर बढाउन मन्त्रालय अघि सरेको जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


नेपालको समग्र खेलकुद विकासमा विभिन्न संघसंस्था र निकायहरु क्रियाशील छन् । खेल क्षेत्रको विकासका लागि नीति निर्माण र सहजिकरणको भूमिका मन्त्रालयले गरेको छ भने कार्यान्वयनको पाटोमा खेलकुदसम्बन्धी सरकारी र यससँग आवद्ध विभिन्न खेलका संघसंस्था क्रियाशील छन् ।

खेलक्षेत्रको प्रमुख विषय भनेको गुणस्तरीय खेलाडी उत्पादन, पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन नै भएको सचिव रेग्मी बताउँछन् । खेल क्षेत्रको विकास र विस्तारका लागि राज्यले खेलकुदको आधारक्षेत्र विद्यालयसँग सहकार्य गर्न पर्ने टड्कारो आवश्यकता देखिएको छ ।

खेल भन्नासाथ व्यक्तिको इच्छा जागृत हुनुपर्ने भएकाले राज्यले विद्यालयस्तरबाटै आकर्षण र प्रोत्साहन हुने विभिन्न कार्यक्रम घोषणा गर्न आवश्यक रहेको पौडी खेलका प्रशिक्षक एवम् पूर्व च्याम्पिएन नयना शाक्य बताउँछन् । खेललाई व्यवसायमा रुपान्तरण गर्दै खेल विधाबाटै खेलाडीकोे जीवनयापन सहज हुने वातावरण बनाउन राज्य र खेलसम्बन्धी विभिन्न संघसंस्थाले ध्यान पुर्याउन सक्नुपर्ने उनको भनाइ छ ।

पछिल्ला समयमा खेल क्षेत्रको विकास र विस्तारको मूल दायित्वबाट विमुख भई नेतृत्व हात पार्ने होडबाजीमा मात्र केन्द्रित भएको खेलकुदका संघ संस्थाका नेतृत्वमाथि आरोप लाग्ने गरेको छ । अधिकांश खेलसम्बन्धी विभिन्न संघका नियमित साधारण सभा तथा कार्यक्रम हुन नसकेको हुँदा आन्तरिक लोकतान्त्रिक अभ्यासको आवश्यकता महशुस भएको छ । यद्यपी मुलुकको खेल क्षेत्रको उन्नयनमा खेलसँग सम्बन्धित संघ संस्थाले खेलाडीको क्षमता वृद्धि र प्रतियोगिता प्रवद्र्धनका कार्यक्रम गर्दै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्मा २०६ वटा खेलकुदका राष्ट्रिय सघसंस्था दर्ता रहेकामा ती मध्ये २५ वटा खारेजीमा परेको मन्त्रालयले जनाएको छ । खेल खेल्ने स्थान विशेष, प्रतिस्पर्धीको संख्या आधार, खेलिने मौसम, सामग्री वा अन्य कलाजस्ता विषयअनुरुप खेल संघसंस्थालाई वर्गीकरण गरिँदै आएको छ ।

नेपालमा इन्डोर खेलसँग सम्बन्धित १३५, आउटडोरका ३७ र एसोसिएटका नौ खेल संघ छन् । ती मध्ये टीममा खेलिने १४ र व्यक्तिगत खेलका १६७ रहेको सचिव रेग्मीले जानकारी दिनुभयो । बल खेलसँग सम्बन्धीत २५, मार्सल आर्टका ९४, परम्परागत खेलका १७, एसोसिएटसका ९ र अन्य खेलका ३६ वटा रहेको जानकारी दिइएको छ । मुलुकमा हाल नवीकरण भएका १०३, नवीकरण नभएका ५४, तदर्थ संघ २४ र खारेजी भएका संघसंस्था २५ रहेको मन्त्रालयले जनाएको छ ।

देशमा क्रियाशील रहेका १८१ खेलसंस्था मध्ये १२४ले पछिल्ला आवमा साधारणसभा सम्पन्न गरेका तथा ३१ वटाले नगरेको बताइएको छ । ती मध्ये १४८ खेल संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । पन्ध्र परम्परागत तथा अन्य विधाका खेल संघ नेपालमा सुरु भई राष्ट्रिय खेलकुद परिषदमा दर्ता भइ क्रियाशील रहेका पाइयो । खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक विकास गर्दै नैतिकवान, अनुशासित र मर्यादित समाज निर्माण गरी यसलाई रोजगारमूलक तथा व्यवसायकारुपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै खेलसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ । रासस