झापा – झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।


ADVERTISEMENT


चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए । जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए । उक्त सङ्ख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आवमा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए ।


ADVERTISEMENT

# # #


ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईँ बताउँछन् । “जिल्लामा बर्सेनी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “मोटरसाइकल दुर्घटना बढी छ ।” सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उनको भनाइ छ ।

जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईँ बताउँछन् ।

ट्राफिक कार्यालयले चालु आवको ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २३ हजार २०० सवारी साधनका चालकलाई कारबाही गरेको छ । कारबाहीवापत उनीहरुबाट  एक करोड ५६ लाख २२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस