काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ती जारी गर्दै स्थानीय तहका सबै पदाधिकारीको ५ वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिने भएकाले यथाशीघ्र निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT


वि.सं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई आधार मानेर स्थानीय तह निर्वाचन २०७३को व्यवस्था अनुसार स्थानीय तहको कार्यकाल समिनु अगावै निर्वाचन मार्फत नयाँ पदाधिकारी आउनु पर्ने आयोगको भनाई छ ।


ADVERTISEMENT

# # #


निर्वाचनको मिति तोक्ने कार्य जति ढिलान हुन्छ, त्यति नै निर्वाचनको व्यवस्थापनको कार्य व्यवहारिक र प्राविधिक रुपले जटिल बन्ने आयोगले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ अनुसार आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

विज्ञप्तीमा निर्वाचन आयोगले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी वैशाख १४ गते बुधबार पहिलो चरणको र वैशाख २२ गते बिहीबार दोस्रो चरणको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको समेत स्मरण गरिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनबारेमा गत पुस ३० गते १६ राजनीतिक दलका पदाधिकारीसँग पनि छलफल गरेको थियो । सबै राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचन समयमै गरिनु पर्ने र निर्वाचन आयोगले त्यसको तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

निर्वाचनको तयारी लागि १२० दिन लाग्ने भएकाले आयोगले मतदाता नामावली संकलन, पुनरावलोकन तथा निर्धारण लगायतका कामहरु गरिरहेकाले आगामी वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा जनाइएको छ ।