बुटवल – लुम्बिनी प्रदेश सरकार कोरोना नियन्त्रण तथा व्यवस्थापनमा चुकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नेहरूले सरकार कोरोना नियन्त्रणभन्दा अन्य कुरामा सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।


ADVERTISEMENT


कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री इन्द्रजित थारूले सबै जनतालाई पूर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुभएको छ । दोस्रो खोप लगाएकाहरूमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारूले खोपलाई द्रुत गतिमा अगाडि बढाएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्री थारूले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरूमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनुभयो । उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लागाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइसकेको बताए ।

मन्त्री थारूले १२ देखि १७ वर्षसम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताउँदै फागुनसम्ममा सबैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताए । उनले खोपप्रति ग्रामीण भेगका नागरिकमा चेतनाको समस्याले गर्दा खोप लगाउनेको संख्या पूर्ण हुन नसकोकोसमेत बताए । स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी खोजी खोप लगाउने तयारी गरिरहेको बताए ।

पूर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समन्वय र परिचालनका साथै कर्मचारी परिचालनमा कडाईका साथ नलागेको आरोप लगाए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले तेस्रो भेरियन्ट आउँछ भन्ने थाहा हुँदा हुँदै पनि पार्टीहरूको महाधिवेशन लगायतका गतिविधिले अहिले फेरि संक्रमितको संख्यमा बृद्धि हुँदै गएको र जोखिम बढेको बताए । उनले कोरोना नियन्त्रण , व्यवस्थापन तथा पूर्व तयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाए ।

लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेल महामारीमा निजी स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूलाई उपेक्षा गरेको आरोप लगाए । उनले कोभिडको यस्तो महामारीमा पनि सरकारले निजी क्षेत्रलाई दिने सहुलियत नदिएको, परिचालन र समन्वय नगरेको बताए । उनले निजी मेडिकल कलेजसँग जनशक्ति रहेको हुँदा कोरोना खोप केन्द्रको रूपमा पनि निजी मेडिकल कलेजसँग सहकार्य गर्र्न आग्रह गरे।

उनले पछिल्लो समय सरकारले मेडिकल कलेजले पारामेडिकल्स र नर्सिङ पढाउन नपाउने कानून ल्याएको भन्दै यसले स्वास्थ्य जनशक्ति उत्पादनमा पनि ठूलो असर गर्ने भएकाले सरकारको ध्यानाकर्षण गराए । नेपाल जनस्वास्थ्यकर्मी संघकी केन्द्रीय सह कोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीहरूले चौबिसै घण्टा खटेर काम गरिरहेको बताए ।

उहाँले स्वास्थ्यकर्मीहरूले ओभर डिउटी गर्दै स्वास्थ्य सेवामा लागेको भए पनि सरकारी तहबाट मूल्यांकन हुन नसकेको गुनासो गरे । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको सभापतित्व र तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । रासस