लुम्बिनी – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् ।


ADVERTISEMENT


उनले कोभिडको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले कोभिड महामारी नियन्त्रणको लागि प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने काम गर्न सुझाव दिए ।

उनले भने, “पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु । तत्काल तीनै तहका सरकार मिलेर कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु ।”

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री केसीले कोभिड संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिए ।

उनले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए ।

रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिए ।

प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोभिड परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिए ।

उनले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसियू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिए । रासस