काठमाडौं– ल्याप्रोस्कोपी पछिल्लो समय अधिकांश बिरामीको रोजाइमा परेको शल्यक्रिया पद्धतिमध्ये एक हो । पेटका भागहरुमा गरिनुपर्ने कुनै पनि शल्यक्रियाका लागि स–साना बाहिरी घाउ बनाइ दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई नै ल्याप्रोस्कोपीक विधि भनिन्छ ।


ADVERTISEMENT


तुलनात्मक रुपमा हाल अधिकांश शल्यक्रिया गर्नुपर्ने बिरामीले ल्याप्रोस्कोपी विधि नै रोज्ने गरेको एभरेष्ट अस्पतालका सञ्चालक दिपक चन्द्र बरालको अनुभव छ । उनी भन्छन्, ‘शल्यक्रिया गर्नुपर्ने ८५.९५ प्रतिशत बिरामीले नै यो विधी रोज्ने गरेको पाइएको छ ।’


ADVERTISEMENT

# # #


दूरबिनबाट शल्यक्रिया गरिने भएकोले छिटो छरितो र आर्थिक हिसाबले पनि खासै महङ्गो नरहेको यो विधिले व्यक्तिमा समयको बचतसंगै पिडा पनि लामो समयसम्म नरहेको हुनाले पनि ल्याप्रोस्कोपी विधि सबैको रोजाईको परेको एभरेष्ट अस्पतालकै स्त्री रोग तथा निःसन्तान रोग विशेषज्ञ डा. राजन शाहको भनाई छ ।

‘शल्यक्रिया गर्दा बिरामीलाई दुखाईको महशुस एकदमै कम हुनु, बिरामीको शरीरबाट थोरै मात्रै रक्तश्राव हुनु , घाउ स सानो हुने भएकाले चाडै निको हुनु र घाउ पाक्ने सम्भावना पनि निकै कम हुनु, शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिड्डुल गर्न सक्नु, अस्पतालको बसाई एकदमै कम छोटो हुनु र चाँडै डिस्चार्ज हुनु नै ल्याप्रोस्कोपी प्रविधिको प्रमुख विशेषता हुन्’, डा. शाहले भने ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा डा. शाह र उनको नेतृत्वको टोलीले गत भाद्रदेखि नै महिला रोग सम्बन्धी सम्पूर्ण शल्यक्रियाहरु दुरबिन मार्फत (हिस्टेरेस्कोपीक र ल्याप्रोस्कोपीक) विधीबाट गर्दै आएका छन् । शुरुआती चरणमा हप्तामा २ देखि ३ वटा मात्र यो विधीबाट शल्यक्रिया हुने गरेपनि पछिल्लो समय यो विधीबाट शल्यक्रिया गर्ने बिरामी हप्तामा २० देखि २५ भन्दा बढी रहने अस्पतालले जनाएको छ ।

गएको पध्र दिनमा मात्रै ४० भन्दा बढीले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गराएको अस्पतालको तथ्यांकमा उल्लेख छ । अस्पतालमा डा. राजन शाहसहित ल्याप्रोस्कोपीका लागि पाँच समूहको चिकित्सकीय टोली रहेका छन् ।

एभरेष्टमा ल्याप्रोस्कोपी प्रविधि भित्र्याउनुको कारण बताउँदै अस्पतालका सञ्चालक बराल भन्छन्, ‘यो प्रविधि ल्याउनुको मुख्य उद्देश्य भनेकै कोही नेपाली नागरिक यहि सर्जरी गर्नका लागि अन्य मुलुक जानु नपरोस र चर्को मुल्य तिरेर उपचार गर्न नपरोस् भन्ने हो ।’ यसबाट आर्थिक अवस्था कमजोर भएका मानिसले पनि देशमै अन्र्तराष्ट्रिय स्तरको उपचार प्राप्त गर्न सकेको उनको दाबी छ ।

उनका अनुसार एभरेष्ट अस्पतालमा पूर्वदेखि पश्चिमका जिल्लाहरुबाट आएर ल्याप्रोस्कोपी सर्जरी गराउँछन् । पूर्वका उदयपुर, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङदेखि लिएर पश्चिमका बैतडी, डडेल्धुरा, डोटि, कर्णाली हुदै नेपालको अधिकाशं जिल्लाबाट बिरामीहरु आएर उपचार गराइ रहेका छन् ।

अधिकांश नारीहरुमा आफ्नो समस्या भएता पनि उपचार गर्ने प्रविधि बारेमा अनभिज्ञताकायम नै रहेको देखिन्छ । यस्तो प्रविधिको जानकारीकै अभावमा कयौँले आजसम्म पनि ल्याप्रोस्कोपीबाट सम्भव उपचार पनि चिरफारकै माध्यमबाट गराइ रहेको पाइन्छ ।

सुरक्षाको दृष्टिकोणले पनि उत्तिकै विश्वसनीय 

यो प्रविधिबाट शल्यक्रिया गराउदाँ कति सुरक्षित छ? भन्ने प्रश्न आम व्यक्तिको जिज्ञासा पनि हुन सक्छन् । प्रतिक्रियामा डा. शाह भन्छन्, ‘पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दो माध्यम हो । यसमा शल्यक्रिया गर्नुपर्ने अङ्गमाथि प्वाल बनाएर क्यामरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ ।’

यस प्रविधिमा शल्यक्रिया गर्ने अङ्गमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखी पेटभित्र भएका अङ्गमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अङ्गको अवस्था हेरिन्छ । र, अप्रेसन गर्ने अङ्गको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मेसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ ।

र, उच्च गुणस्तरको क्यामेराको सहायताबाट आँखाले देखिनेभन्दा ठुलो र स्प्रस्ट दृश्य मोनिटरमा हेरेर शल्यक्रिया गरिने भएको कारणले पनि सुरक्षाको दृष्टिकोणबाट पनि यो अन्यको शल्यक्रियाको तुलनामा उचित रहेको उनी बताउँछन् । ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा धेरै किसिमका रोगको उपचार गरिन्छ ।

डा. शाहका अनुसार ल्याप्रोस्कोपिक विधिबाट अस्पतालले स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।