गण्डकी – ‘शिक्षा नपाए कि जानू काशी, कि जानू कास्की’ भन्ने उखान जनजिब्रैमा झुण्डिएको छ । उखान जस्तै कास्की प्राचीनकालदेखि नै शिक्षाको केन्द्र जस्तै बनेको थियो । यकिन तिथिमिति थाहा नभए पनि १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनबाट यसले आफूलाई शिक्षाको केन्द्रका रुपमा स्थापना गरेको इतिहासका जानकार बताउँछन् ।


ADVERTISEMENT


तत्कालीन समयमा पाउँदुरमा पौडेल थरका विद्वान्ले पिँढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिँढी पाठशाला भनिएको हो । उक्त समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वान्ले गुरु, शिष्य परम्परानुसार नै पठपाठन गराएको पाइन्छ । पोखरामा पढ्नकै लागि देशका विभिन्न स्थानबाट आउने क्रम बढेसँगै सो उखान चलेको हुन सक्ने बूढापाकाको तर्क छ ।


ADVERTISEMENT

# # #


पढ्ने–पढाउने क्रम थालिए पनि औपचारिक रुपमा विसं १९५८ मा देवशम्शेरका पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा छ । यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो ।

भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्ष्य गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो । शुरुमा नदीपुरस्थित नारायणस्थान, पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेसनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो । सो विद्यालय स्थापना एवम् सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो ।

पिंँढी पाठशालादेखि सुरु भएको यहाँको शैक्षिक विकासमा विभिन्न समयमा स्थापित पुस्तकालयले पनि विशेष योगदान पु¥याएका छन् । पोखरा महानगरपालिका वडा नं १३ कुँडहरमा छ दशकअघि समाजमा शिक्षाको ज्योति फैलाउने उद्देश्यका साथ स्थापित अरण्यज्योति पुस्तकालय यहाँको जीवन्त इतिहास हो । विसं २००९ अर्थात् नेपालमा १०४ वर्षीय निरङ्कुश राणाशासन अन्त्यपछिको सङ्क्रमणकालीन समयमा स्थापित यसले आफ्नै गौरवमय इतिहास बोकेको पुस्तकालयका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

“यस क्षेत्रको पहिलो अग्रणी पुस्तकालयका रुपमा स्थापित भई यसले चेतना विस्तार गर्ने अभियानमा नेतृत्वदायी भूमिका खेलेको छ”, उनले भने, “आफ्नो गौरवमय इतिहासको निरन्तरताका साथै सामाजिक एकता, सहिष्णुता र भ्रातृत्वको भावना विकसित गरी सुन्दर समाज निर्माणको अभियानमा पुस्तकालय कटिबद्ध छ ।” स्थापनाको प्रारम्भदेखि नै विभिन्न आरोह–अवरोह पार गर्दै अघि बढेको पुस्तकालयलाई समयसापेक्ष रुपमा नयाँ ढङ्गबाट अघि बढाउन खोजिएको उनले बताए ।

उनका अनुसार विश्व २१ औँ शताब्दीमा प्रवेश गरिसकेका वर्तमान अवस्थामा नवीनतम आवश्यकतानुसार चुनौती र सम्भावनाका बीचबाट पुस्तकालयलाई केवल पुस्तक सङ्ग्रह गर्ने कक्षका रुपमा सीमित नराखी विचारको मन्थन गर्ने एउटा यज्ञस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

पोखरा–१३ स्थित भद्रकाली मन्दिरबाट पूर्व र भद्रकाली माध्यमिक विद्यालयबाट दक्षिणतर्फ रहेको पुस्तकालय महानगरपालिकाद्वारा भोगाधिकारका लागि प्राप्त करिब पाँच रोपनी जग्गामा अवस्थित छ । विगतमा सामान्य एउटा कच्ची कोठाबाट सुरु भएको पुस्तकालय अहिले पक्की ढलानयुक्त भवनमा सञ्चालन भइरहेको छ ।

यस क्षेत्रकै एउटा दरिलो इतिहास र सामाजिक चेतनाको केन्द्र जस्तै रहेका कारण यसको गरिमा र महत्वलाई जोगाउनुपर्ने स्थानीयवासी बताउँछन्। इतिहासको जगेर्नाका साथै समाज परिवर्तनको महत्वपूर्ण आधार सो पुस्तकालयलाई थप व्यवस्थित गर्दै कुँडहर र आसपासका क्षेत्रको शैक्षिक तथा सामाजिक पहिचानलाई कायमै राख्न सबैको सकारात्मक सहयोग अपरिहार्य भएको अध्यक्ष भण्डारीले बताए। पुस्तकालयसँगै परिसरमा बालबालिकाका लागि एक बगैँचा निमार्ण गर्नाका साथै मातहतमा रहेको जग्गा संरक्षण गरी यसको पहिचानलाई संरक्षण गर्नु अपरिहार्य देखिएको उनको भनाइ छ ।

पुस्तकालयलाई समयसापेक्ष व्यवस्थित गर्न एउटा सानो कच्ची कोठाबाट प्रारम्भ गरिएको भवनलाई परिमार्जन गरी नयाँ आधुनिक पक्की भवनमा सञ्चालन गरिएकामा अझै पनि धेरै पूर्वाधार विकासका काम आवश्यक देखिएको छ । पुस्तकालय सञ्चालन हुँदै गर्दा बीचका समयवधिमा पठन संस्कृति अभाव र त्यसप्रतिको बेवास्ताले कतै यसको महिमा र गरिमा त लोप हुने होइन भन्ने चिन्ता र चासोका बीच पुनः यसप्रतिको जागरण बढ्दै गएको छ ।

“२०६६ सालमा पुस्तकालय सञ्चालक समितिको जिम्मा लिँदै गर्दा मैले ८२ वटा पुस्तक र ४२ हजार नगद प्राप्त गरेको थिएँ”, अध्यक्ष भण्डारीले भने, “त्यसयता पुस्तक सङ्कलन गर्दै जाँदा अहिले करिब छ हजार पुस्तक, १८ वटा कम्प्युुटर, एक वटा ल्यापटप, एक वटा प्रोजेक्टर, इन्टरनेट आदि सुविधा उपलब्ध गराउन सकिएको छ ।” स्थानीय तहबाट यहाँको पुस्तकालयको विकासका लागि निरन्तर साथ र सहयोग प्राप्त भएको भण्डारीले बताए ।

पछिल्ला समय पुस्तक लिने र दिने, आउने र जाने थलो मात्र नबनाई पठन संस्कृतिको विकासका लागि घुम्ती पुस्तकालय सञ्चालनसँगै विभिन्न कार्यक्रम अघि बढाइएको छ । पुस्तकालयमा महिलाका लागि साक्षरता अभियान, बालबालिकाका लागि पठन कार्यक्रम, युवाका लागि उत्प्रेरणात्मक कार्यक्रम, ज्येष्ठ नागरिकका लागि शान्ति कार्यक्रम, गृहिणीका लागि प्रविधि साक्षरता तालिम र राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिको उपस्थितिमा गर्ने गरिएका विचार गोष्ठी प्रभावकारी बन्दै गएका छन् । पुस्तकालय परिसरमा रहेको सुन्दर हरियाली उद्यानले यहाँको शोभा बढाएको छ ।

प्रा तारा बराल विसं २००७ को क्रान्तिपछि युवामा चेतना र जागरणका लागि यसले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । तत्कालीन समयमा जगन्नाथ सिग्देल, श्रीकान्त अधिकारी, श्रीभद्र खनाल, डिट्ठा श्रीप्रसाद घिमिरेलगायतको भौतिक तथा बौद्धिक सहयोगमा पुस्तकालय स्थापना भएको उनको भनाई छ । यसको स्थापनामा यस क्षेत्रका सिग्देल, ढेवाजु र चौधरी परिवारका युवाको विशेष साथ र सहयोग रहेको बताइएको छ ।

अँध्यारोमा उज्यालो छर्ने महत्वपूर्ण माध्यमका रुपमा तत्कालीन समयमा नाम नै अरण्यज्योति राखिएको बताउँदै स्थानीय समाजसेवी शरदकान्त सिग्देल पछिल्ला समयमा अझै यसको प्रभाव र महत्व बढ्दै गएको धारणा राख्छन्। समयको मागअनुसार विद्युतीय पुस्तकालयका रुपमा यसको विकास गर्नाका साथै आवश्यक भौतिक पूर्वाधार विकासका लागि पनि सबैको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए ।

व्यक्ति, परिवार र राष्ट्रको परिवर्तनको आधारशिला रहेको पुस्तकालयको विकास तथा परिवर्तनका लागि समाज र राष्ट्रको उदासीनता देखिनु गम्भीर चुनौतीका रुपमा खडा भएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । बदलिँदो प्रविधिको विकास र यसले पुस्तकालयमा पारेको प्रभावविरुद्ध प्रतिवाद गर्न नसकिएको वास्तविकतामा पाठकको रुचिअनुसारका पुस्तकको व्यवस्था नहनु, राज्यले नियमित सहयोग उपलब्ध नगराउनु, कमजोर र साक्षरताविहीन आर्थिक अवस्थाका अभिभावक हुनु आदि चुनौतीका बीच पुस्तकालय घिस्रिरहनुलाई गम्भीर समस्याका रुपमा हेरिएको छ ।

अध्यक्ष भण्डारीका अनुसार अरण्यज्योतिको ऐतिहासिक महत्वसमेतलाई दृष्टिगत गरी समितिले पुस्तकालयको कार्यालय व्यवस्थापन गर्दै बिहान १० देखि ६ः३० बजेसम्म पठनपाठनका व्यवस्था मिलाउने सोच बनाएको छ । हाल आंशिक रुपमा कर्मचारीको व्यवस्थापन गरी अपराह्न ४ देखि साँझ ६ः३० बजेसम्म पुस्तकालय सञ्चालनमा ल्याइएको छ । विशेषगरी सेवानिवृत्त व्यक्तिसहित दैनिक २५ देखि ३० जनासम्म पुस्तकालयमा पुग्ने गरेका छन् । त्यस्तै यहाँ इ–लर्निङका कक्षा सञ्चालन, स्वदेशी तथा विदेशी पुस्तक तथा पत्रपत्रिका सङ्कलन, पुस्तकालयको सदस्यता वितरण अभियान, मासिकरूपमा रुपमा शैक्षिक तथा साहित्यिक कार्यक्रम सञ्चालन, बाल– वृद्ध – महिला – श्रव्यदृश्य कक्ष आदि निर्माण गर्ने सोच राखिएको छ । समितिले ‘एक घर एक पुस्तक’ अभियान सञ्चालन गर्ने, पठन संस्कृतिको विकासका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने आदि सोच पनि राखेको उनले बताए ।

नियमित पाठक एवम् सल्लाहकार सदस्य दीपक तामाङले पुस्तकालय पोखरा – १०, १२, १३ र १४ को वैचारिक थलोका रुपमा विकास भइरहेको बताए । विगतमा सुषुप्तावस्थामा सञ्चालन भरहेकामा वर्तमानमा भने समयसापेक्ष अघि बढाउन हालको समितिले क्रियाशीलता देखाइरहेको बताउँदै तामाङले बौद्धिक जागरणको अभियानलाई अघि बढाउन पनि यसले विशेष टेवा पुर्याएको बताए। “हाम्रो वर्तमान समाज औपचारिक शिक्षाबाट मात्र निर्देशित छ”, उनले भने, “बौद्धिक जागरणका साथै चेतनास्तर वृद्धिका लागि जनमानसमा पठन संस्कृति अपरिहार्य छ, त्यसका लागि पुस्तकालयमा पढ्ने संस्कृतिको विकास गरिनुपर्छ ।”


ADVERTISEMENT

#
#


सञ्चालक समितिका पूर्वाध्यक्ष किरणराज घिमिरे पुस्तकालयलाई यस क्षेत्रकै बौद्धिक बहस गर्ने थलोका रुपमा विकास गर्नु जरुरी रहेको बताउँदै यसका लागि आसपासका टोलबाट नियमित आउने गरी कार्यतालिका निर्माण गर्नुपर्ने औंँल्याउँछन् । “पुस्तकालयमा आएर केवल किताबी ज्ञान लिने मात्र नभई समाज, सामाजिक परिवेश आदि सम्बन्धमा बहस–पैरवी गर्ने वातावरण निर्माण गर्न सकिन्छ”, उनले भने, “एकापसमा गरिने भेटघाट तथा गफगाफले समाजिक वातावरण निर्माणका साथै बहुआयामिक फाइदा पुग्छ ।” पुस्तकालयले आसपासका ४१ वटै टोलमा पठन संस्कृतिको विकास गर्ने सोचका साथ घुम्ती पुस्तकालय सञ्चालन गर्ने अभियान पनि बढाएको छ । रासस

प्रतिकृया

प्रतिकृया