कालीकोट– कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो ।


ADVERTISEMENT


कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्लामा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए। ‘पछिल्लो चरणमा कोभिड–१९ बाट सङ्क्रमितमध्ये ६ महिला र सात पुरुष रहेका छन्’, सुनाउँदै उनले भने, ‘विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयावहरुपमा लिएको छ ।’

कोभिड–१९ का सङ्क्रमित विभिन्न होमआइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए । जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या ८१ हजार १८१ रहेको र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३१३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

हालसम्म कालीकोटमा कूल जनसङ्ख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसङ्ख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएको निमिक्त प्रमुख महतले जानकारी दिए । रासस