रुकुमपूर्व – जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।


ADVERTISEMENT


ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताए ।


ADVERTISEMENT

# # #


यसैक्रममा सोमबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा यो कार्यक्रम गरिएको छ । विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको छ ।

विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख सेनले बताए ।

यसैगरी यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको ट्राफिक प्रमुख सेनको भनाइ छ । रासस