काठमाण्डौं-३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधारको विषयमा छलफल गर्दै हेटौँडाका उद्योगी, व्यवसायीलगायत सबैको पहलमा यस्तो निर्णय गरिएको हो ।


ADVERTISEMENT


होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले निर्वाचित प्रतिनिधिका लागि निःशुल्क खाना र आवास आफ्नो संघले गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले हेटौँडामा पर्याप्त होटल रहेको भन्दै प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने जानकारी दिइन ।


ADVERTISEMENT

# # #


त्यसैगरी नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले यातायातका लागि जस्तोसुकै किसिमको साधन उपलब्ध गराउन पनि संघ तयार रहेको बताए । उनले सबै जिल्लासँग सडक जोडिएको जिल्ला भएको र भौतिक संरचना पर्याप्त रहेको आधारले पनि हेटौँडामा नै प्रदेशको राजधानी रहनुपर्ने तर्क व्यक्त गरे ।

औद्योगिक क्षेत्र हेटौँडाभित्र खालिरहेका धेरै भवन रहेको र तत्कालका लागि प्रयोग गर्दै प्रदेश कार्यालय सञ्चालन गर्न सकिने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको भनाइ छ । मकवानपुरका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले भदौ ४ गते नै जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको राजधानी हेटौँडा बनाउने पहल गर्ने निर्णय गरेको बताए ।

हाल १९ वटा क्षेत्रीय कार्यालय रहेको हेटौँडा उपमहानगरपालिकामा प्रदेशको राजधानीका लागि चाहिने ७५ प्रतिशत संरचना तयारी अवस्थामा रहेको यहाँका राजनीतिक दलका नेताहरुले बताएका छन् । हेटौँडालाई राजधानी तोकेर बोर्ड मात्र झुण्ड्याए पुग्ने दलहरुको तर्क छ ।