काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कांग्रेस सभापति शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । माओवादी केन्द्रको जारी महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले प्रचण्डको प्रशंसा गर्न कुनै कसर बाँकी राखेनन् । देउवाले प्रचण्डको प्रशंसा गर्दा अध्यक्षसमेत रहेका प्रचण्ड भने मुसुमुसु हाँसिरहेको देखिन्थो ।   माओवादीमा तत्काल नेतृत्व परिवर्तन हुने परिस्थिति छैन । अर्का पार्टीका सभापतिले  मुक्तकण्ठले गरेको प्रशंसाले प्रचण्डलाई निकै बलियो देखाएको छ ।


ADVERTISEMENT


देउवाको भाषणको पूर्ण पाठ 


ADVERTISEMENT

# # #


अहिले महाधिवेशन भएको छ, अत्यन्त महत्वपूर्ण समयमा भएको छ । पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिनुभएको छ । संविधान सभाको चुनाव गराउनमा यो सत्य कुरा हो कि उहाँको बलले संविधानसभामा हामीहरु गएका हौँ ।

यसमानेमा संविधानसभाबाट संविधान बनाउने कुरा,  कांग्रेस पार्टीको कुरा र पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर आजसंविधान सभाबाट संविधान बनेको छ । समावेशी, समानुपातिक आधारमा छ । संघीयता छ, गणतन्त्र छ । यसैकारणले गणतान्त्रिक समावेशितासहितको समावेशी संविधान जो नेपालमा आएको छ, यो अत्यन्तै महत्वपूर्ण बनेको छ । यसमानेमा संविधान बनाउने काममा पुष्पकमल दाहालजीको सबैभन्दा महत्वपूर्ण योगदान छ भन्ने कुरा हामी सबैले मान्नुपर्छ ।

र, अहिलेको बेलामा हाम्रो गठबन्धन बनेको छ । यो कुनै कसैको विरोधमा होइन । तर, के छ भने, यो अहिलेको संविधान बीचमा भंग भयो । मन परेन भंग भयो । यो भंग नहोस् । बीचमा संसद भंग नभएर पूरा चलोस् भन्ने उद्देश्यका साथ संविधान बनाएकोजस्तो लाग्छ । म पनि संविधानसभामा संलग्न थिएँ । संविधान बनाउने काममा मेरो केही न केही भए पनि योगदान छ ।

यसमानेमा यो संविधानको आधारमा हामीले फेरि अदालतमा गएर बनाएको पाँचदलीय गठबन्धन छ । यो खराब गठबन्धन होइन । यो संविधान साथसाथै संसद् बचाउने गठबन्धन हो । यो पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ । म त अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु । यसमा सबैको सहमति चाहिन्छ । यो कसैको खिलाफमा होइन । उता, ओलीजीहरुलाई अरु पार्टीलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन बनाए भनेर ।

तर, आफूले त मिल्न पाइन्छ नि ! यसको लागि कुरा हो । अरु कुराहरु तपाईंहरुका एजेण्डाहरु होलान् । छलफल व्यापक हुनेछ भन्ने विश्वास मलाई छ । मैले अघि नै भनिसकेँ, प्रचण्डजीको धेरै योगदान छ, यो संविधान बनाउन । शान्ति प्रक्रियामा पनि । शान्ति प्रक्रियाका केही कुराहरु बाँकी छन् । मलाई विश्वास छ, हामी शान्ति प्रक्रियालाई पूरा गराएर छिटै समाधान गराएर स्थायी शान्तिमा जानेछौँ ।

मलाई लामो कुरा भाषण गर्नु छैन, यहाँ बोल्नैपर्ने भयो, यहाँ एमसिसी राष्ट्रघाती भनियो । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसिसी राष्टघाती भनिदिए । राष्ट्रघाती भन्नेले पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्न पर्यो, कहाँ छ राष्ट्रघाती ? म  नेपालको प्रधानमन्त्री हुँ, नेपालको खिलाफमा जाउँला मैले ?  म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । किन राष्ट्रघाती काम गरुँला ? किन राष्ट्रघाती सन्धी गरुँला ? त्यसकारण हामीले स्पष्ट रुपमा के छ भने, यस सन्दर्भमा पढ्नुस्, छलफल गर्नुस् । हाम्रोबीचमा पनि छलफल हुँदै छ । प्रचण्डजीहरु हुनुहुन्छ, अरु नेतासँग छलफल गरिरहेका छौँ ।

यो एमसिसी एकदम नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो हेर्नुस् । सित्तैमा आएको पैसा चाहिन्न भन्न मिल्दैन । वर्ल्ड बैंक, एडिबीले पठाएको ऋण लिन्छौँ, अन्तर्राष्ट्रिय कानुन कायम हुन्छ । एमसिसी आएको छ, नेपालको कानुन मान्छौँ भनेको छ तैपनि मान्न नदिन त ? राम्रोसँग बुझ्न पर्यो क्या ! मलाई विश्वास छ, यसमा सहमति भएर आउँदोमा पास गराउनेछौँ ।

यहाँ लामो भाषण भयो । लामो–लामो बोल्ने वक्ताहरु छन् । सबैभन्दा छोटो बोल्ने मै हुँ, मै पनि आज लामो बोलेँ । अन्त्यमा, महाधिवेशन सफलताको हार्दिक कामना गर्दै अत्यन्त सौहार्दपूर्ण तरिकाले सफल हुनेछ । मलाई विश्वास छ, हुन त मैले तपाईं कोलाई नेता बनाउनुहुन्छ मैले भन्ने कुरा आएन । मैले हेर्दाखेरि त अहिले त प्रचण्डजी नै होला जस्तो लाग्छ, मलाई । यसैकारण उहाँलाई पनि हार्दिक शुभकामना भन्दै बिदा हुन्छु । धन्यवाद । जयनेपाल ।