म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आज बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरूपमा गति दिन यही पुस १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुस १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए ।


ADVERTISEMENT

# # #


तेह्र किलोमिटर दूरीको सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भीष्म मल्ललगायत सरोकारवाला र सुरक्षा अधिकारीको उपस्थितिमा बैठक बसेको थियो ।

बैठकले सवारी आवतजावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओम कारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकूल मौसम भएको समयमा सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।

हाल कालोपत्रेसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो । रासस