ओखलढुंगा– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने भएको छ ।


ADVERTISEMENT


दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै महिला तथा बालबालिका कार्यालयले अनुगमन गर्ने तयारी गरेको महिला तथा बालबालिका कार्यालय ओखलढुंगाका महिला विकास अधिकृत प्रवल श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगाको सबै तहमा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भए÷नभएको बारेमा अनुगमन टोली परिचालन गरिने तयारी भएको महिला विकास अधिकृत श्रेष्ठले बताए ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएकाले सो क्रममा जिल्लामा बालबालिकाको प्रयोग हुनसक्ने भन्दै अनुगमन गर्न लागिएको हो ।

अनुगमनका लागि सिद्धिचरण नगरपालिकामा आमबहादुर कटवाल, सुनकोसी गाउँपालिकामा मनकुमार गुरुङ, मोलुङ गाउँपालिकामा अम्बिका श्रेष्ठ, मानेभञ्ज्याङ गाउँपालिकामा सविना राई, चिशंखुगढी गाउँपालिकामा जानुका कटवाल, खिजिदेम्बा गाउँपालिकामा सरिता तामाङ, लिखु गाउँपालिकामा छत्र खत्री र चम्पादेवी गाउँपालिकामा निर्मला खड्कालाई परिचालन गरिएको महिला विकास अधिकृत श्रेष्ठले जानकारी दिए ।