चितवन – चितवनमा  निर्माण गरिँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसनले आधिकारिकरुपमा नै हात झिकेको  छ । आर्थिक संकलन गर्न नसकेपछि फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।


ADVERTISEMENT


फाउण्डेसनले भरतपुर महानगरपालिकासँगको सम्झौतामा उल्लेख भएअनुसार नै रंगशालाको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण काम विगत पाँच महिनादेखि ठप्प छ । सोही कारण देखाउँदै फाउण्डेसनले महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गरेको छ।

फाउण्डेसनले महानगरलाई गरेको पत्रमा लेखिएको छ, ‘फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ।’

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले कोभिड–१९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको जानकारी दिइन्।

स्वामित्व लिएलगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको दाहालले बताइन् ।