सिरहा – मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ ।
स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले क्रियाखर्च वापत रु ५० उपलब्ध गराउने र थप रु चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने तथा घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि आज अपराह्न १२ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए ।
आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताए । छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडपसमेत भएको थियो । उनीहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस