झलनाथ खनाल, भजनी– कैलालीको टीकापुर जमरा पुलदेखि बस पार्कसम्मको छ लेन सडकको कालोपत्र भइरहेको छ । बसपार्क क्षेत्रको सडकको बीच भागमा गिट्टी थुपार्नाले आवागमनमा निकै समस्या भइरहेको छ ।


ADVERTISEMENT


हुनत् टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा अहिले बस पार्किङ सडकमै हुने गरेको छ । नगरपालिकाले आफ्नो मातहतमा लिएको एक वर्षभन्दा बढी भइसक्दा पनि बसपार्क सञ्चालनमा नआउँदा पार्किङका लागि निकै समस्या हुने गरेको सुदूरपश्चिम यातायात प्रालिमा कार्यरत रामप्रसाद सुवेदीले बताउँछन् । बस पार्किङका लागि अन्त कतै पनि व्यवस्था नहुँदा सडक किनारमा पार्किङ गर्नुपरेको उललेख गर्दै रातीको समयमा पार्किङमा राखिएका बसमा कुनै सवारीसाधन ठोकिएमा त्यसको जिम्मेवारी पनि आफूहरुमाथि नै आउने गरेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘बसपार्क सञ्चालनमा आइ दिएको भए धेरै राम्रो हुन्थ्यो । बसपार्क नभएका कारण पार्किङको लागि बस व्यवसायीलाई निकै समस्या छ’, सुवेदीले भन्छन्, ‘नगरपालिकालाई बसपार्क सञ्चालनमा ल्याउन आग्रह पनि गरेका हौं । त्यसमा नगरपालिकाले चासो दिएका छैन । अब सडक कालोपत्रको काम हुन लागेकाले बस पार्किङका लागि झनै समस्या हुने देखिन्छ ।’

सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयले टीकापुर बसपार्क विसं २०७७ भदौ ३ गते एक कार्यक्रमको आयोजना गर्दै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको भए पनि नगरपालिकाले बसपार्क सञ्चालनम ल्याउन सकेको छैन । शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रमअन्तर्गत रु आठ करोड २८ लाखको लागतमा निर्माण भएको बसपार्क प्रयोगमा ल्याउन नसक्दा टीकापुर पुग्ने सवारीसाधन सडक किनारमा पार्किङ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

एक बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्कको दोस्रो चरणको घेरवार लगायतका अन्य संरचना निर्माणका लागि थप रु तीन करोड बजेट छुट्याइएको थियो । अहिले घेरवारको सबै काम भइसकेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले केही काम बाकी रहेका कारण आह्वान गरिएको टेन्डर रद्द गरेर बाँकी काम सम्पन्न गरिएको बताउँदै केही दिनमै बसपार्कको टेन्डरको प्रक्रियामा जाने बताए । ‘काम बाकी रहेका कारण आव्हान गरेको टेन्डर रद्द गर्नुपरेको उनको भनाइ छ ।

‘अब नयाँ टेन्डर हुन्छ’, सुनाउँदै नगरप्रमुख रावलले भने, ‘त्यसको प्रक्रिया केही दिनमा हामी अगाडि बढाउँछौँ र बसपार्क सञ्चालनमा आउँछ ।’ विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभीले २०७७ साउन २ गतेभित्र बसपार्क निर्माणको काम सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । जेभीले तोकिएको समयभन्दा अगाडि २०७७ वैशाख २६ गते बसपार्क निर्माणको काम सम्पन्न गरेको थियो । रासस