डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरे ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले भने, “मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ।” डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उनले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणासमेत राखे ।


ADVERTISEMENT

# # #


“मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु” देउवाले भो, “डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ ।” यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु”, देउवाले भने ।

डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै उनले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताए । “सडक सञ्जाल विस्तार भए पनि कच्ची भएकाले धुलोधुवाँ धेरै भयो,” उनले भने – “अब सबै सडकहरु कालोपत्र गर्छु ।”

उनले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिए। “पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ,” उनले भने – “डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।”

“म कसैका विरुद्ध यहाँ बोल्न आएको होइन,” देउवाले भने । त्यसैगरी उनले जोगबुढा भएर भारत जान महाकाली नदीमाथि पुल निर्माण गर्ने बताउँदै सो पुल निर्माणका विषयमा भारतसित सहमति भइसकेको जानकारी दिए । त्यसका साथै उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने वचनबद्धता पनि प्रकट गरे ।

उनले वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी भएको आरोप लगाउँदै कम्युनिस्ट शासन त्रासपूर्ण हुने बताए । “राणा शासन हटाएर प्रजातन्त्र ल्याउनदेखि ज्ञानेन्द्रलाई हटाएर लोकतन्त्र स्थापना गर्नसम्म काँग्रेसको भूमिका रह्यो,” उनले भने ।