काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशन सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले अन्तरआत्माले विवेक प्रयोग गरेर मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT


दोस्रो चरणको निर्वाचन हुनुअघि आकष्मिक पत्रकार सम्मेलन गर्दै उम्मेदवार कोइरालाले गुट–उपगुट बिर्सेर आफ्नो विवेक प्रयोग गर्दै भोट हाल्न आग्रह गरेका हुन् । ‘तपाईंहरुको एकमतले नेपालको भविष्य परिवर्तन गर्न सक्छौँ भन्ने विश्वास लिएर हामी अघि बढेका छौँ ।’ उनले भने, ‘भोट हाल्दा गुट उपगुट, भागबण्डा सबै बिर्सेर आफ्नो विवेक प्रयोग गर्नुहोस् र मनको आवाजले के भन्छ त्यही अनुसार गर्नुहोस् ।’


ADVERTISEMENT

# # #


व्यवस्थित नेपाली काँग्रेसभित्र अव्यवस्थाको चाङ लागेकाले त्यसलाई व्यवस्थित गर्न आफू सभापतिको उम्मेदवार बनेको बताए । काँग्रेस रुपान्तरण र पुस्तान्तरणको अभियानमा आफू लागेको बताउँदै उनले त्यसलाई पूरा गरेरै छाड्ने बताए ।

उनले भने, ‘मैँले आजसम्म रुपान्तरण र पुनर्जागरणका कुरा गर्दै आएको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने सोच बनाएको छु र हाम्रो टिम जुन छ, त्यससँगै मिलेर काम गर्नेछौँ ।’ उनले पहिलो चरणमा आफूलाई मतदान गर्ने सबैप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन् ।

मतपरिणाम जस्तोसुकै आएपनि आफू सहर्ष स्वीकार गर्ने बताउँदै शेखरले भने, ‘नेपाली काँग्रेसभित्र वृहत्तर एकताको प्रयास रहिरहन्छ भन्ने विश्वास छ ।’ उनले आफ्नो विजय हुने समेत दाबी गरे ।

काँग्रेको १४औँ महाधिवेशनमा सोमबार सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन सकेका थिएनन् । विधान हनुसार सबैभन्दा बढी मत ल्याउने दुईजना शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान ३ः३० मा हुने बताएको छ ।

सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई सघाउने निर्णय गरिसकेका छन् । यससँगै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।