नवलपरासी– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ ।


ADVERTISEMENT


हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताए ।नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण र निर्वाचनमा खटिने कर्मचारीको विवरणसमेत सङ्कलन भइरहेको छ ।

जिल्लामा विभिन्न तहका शिक्षकहरु एक हजार ५०५ जना छन् भने संस्थानतर्फ १६१ र निजामतीतर्फ एक हजार ११४ जना कर्मचारी रहेका छन् । ती सबै कर्मचारी निर्वाचनमा खटिने छन् ।मतदाता नामावली समावेश भएको सङ्ख्यामध्ये तेस्रोलिङ्गी समुदायको सङ्ख्या पनि आठजनाको रहेको छ । यसैगरी पुरुष मतदाताको सङ्ख्या एक लाख ८२ हजार ३६५ र महिला मतदाताको सङ्ख्या एक लाख ९१ हजार ५०५ रहेको छ ।

कार्यालयले फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाई जिल्लामा मतदान केन्द्रसमेत तोकिसकेको जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकामा गरी २३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब ५०० मतदान केन्द्र रहनेछन् ।

स्थानीय तहको निर्वाचन हुने सम्भावना बढ्दै गएपछि जिल्लाका चोक चौराहामा विभिन्न दलका नेता कार्यकर्ताबीच निर्वाचनबारेको छलफल सुरु भएको छ । निर्वाचनको पूर्वतयारीका लागि आवश्यक कार्य अघि बढाइएको र यसको व्यवस्थापनमा कार्यालय लागिपरेको र निर्वाचनका लागि नवलपरासीमा ३३ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।