बागलुङ– पति सांसद हरिबहादुर खड्काको निधनपछि राजनीतिमा होमिएकी चम्पादेवी खड्कालाई समयले सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीसम्म पुर्याएको छ ।


ADVERTISEMENT


सडक दुर्घटनामा पति गुमाएकी राज्यमन्त्री खड्का २०७१ चैतमा भएको संविधानसभा उपनिर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट विजयी बनेकी थिइन् । तीन वर्षको अन्तरालपछि पुनः सोही क्षेत्रबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार बनेकी छन् ।


ADVERTISEMENT

# # #


जिल्लाकै एक्ली महिला उम्मेदवार खड्काले अघिल्लो चुनाव जित्दा ‘पतिका सपना’ पूरा गर्ने बताएकी थिइन्। पति वियोगको कठिन घडीमा पनि साहसका साथ निर्वाचनमा होमिएर विजेता बन्न सफल खड्का फेरि चुनावी मैदानमा उत्रिएकी छन् । सांसददेखि राज्यमन्त्री हुँदासम्मको अनुभवलाई थप सुदृढ गर्दै मतदाताको मन जित्ने दौडमा उनी छन् । “म आधा आकाश ढाकेका महिलाको तर्फबाट चुनाव लड्दै छु”, उहाँले भन्नुभयो “बाँकी योजना र सपना पूरा गर्नुछ ।”

तीन वाम दलको गठबन्धनविरुद्ध उनी नेपाली काँग्रेसका तर्फबाट चुनाव भिड्दै छिन् । यद्यपि, उनलाई राप्रपालगायतका केही साना दलले बिना शर्त सहयोग गर्ने वचन दिएका छन् ।

“नेपाललले राजनीतिक लडाइँ पूरा गरेको छ, अबको यात्रा समृद्धितर्फको हो ” खड्काले भनिन् “म एकल महिला पनि भएकाले एकल महिला र समग्र महिलाको पक्षमा काम गर्नेछु, उनीहरूको हकअधिकारका लागि लड्नेछु”

तीन वाम दलका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) का सूर्य पाठक खड्काका प्रतिस्पर्धी उम्मेदवार छन् । बयालीस वर्षीय पाठक २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट क्षेत्र नं २ को उम्मेदवार बनेका थिए। सो निर्वाचनमा नेपाली काँग्रेसका प्रकाश शर्मा पौडेलसँग पराजित पाठकले अहिले आफूले जित्ने दाबी गरेका छन् । विसं. २०४५ देखि विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गर्नुभएका पाठक अहिले पार्टी राजनीतिमा सक्रिय छन्। जापानबाट जनप्रशासन विषयमा विद्यावारिधि गरेका पाठकले विदेशमा आर्जेको ज्ञान, सीपलाई देशको समृद्धिमा लगाउने अठोट लिएका छन् ।

“वाम तालमेलले पनि म जित्नेमा ढुक्क छु, ममाथि युवा पुस्ताको पनि ठूलो भरोसा छ” पाठकले भने । नीति, निर्माणदेखि विकास योजनाका खाका लिएर आफू मतदाताकहाँ पुगेको उनको भनाइ छ । विदेशिएको जनशक्तिलाई नेपाल फर्काउन स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको पाठकले बताए । आर्थिक समृद्धि हुँदै समाजवाद उन्मुख देश बनाउन वाम उम्मेदवारले जित्नै पर्ने उनको दाबी छ । जिल्ला र समग्र देशको उन्नतिका लागि काम गर्ने पाठकको प्रतिबद्धता छ ।

विसं।२०७०को संविधानसभा दोस्रो निर्वाचनमा बागलुङका तीनवटै निर्वाचन क्षेत्रमा विजयी बनेको नेपाली काँगेसलाई अहिलेको चुनावमा भने चुनौती थपिएको छ । उक्त निर्वाचनमा एक्लाएक्लै लडेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिले तालमेलसहित चुनावमा होमिएका छन् भने नेपाली काँग्रेसले एक्लै चुनावको सामना गर्दैछ । दुवै पक्षका उम्मेदवार अहिले जनमत बटुल्न मतदाताको घरदैलोमा पुगिरहेका छन् ।