काठमाडौँ– काठमाडौँ– मलेसियामा जारी एसीसी यू– १९ एसिया कप क्रिकेटको समूह चरणको तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ ।
वर्षाका कारण वर्षाका कारण डकवर्थ लेविस नियम अनुसार खेल छोट्याएर २४ ओभरमा झारिएको थियो । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५ ओभरमा २ विकेटको क्षतीमा ५१ रन बनाएर लक्ष्य पूरा गर्यो।
यता टस हारेर ब्याटिङ थालेको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमात्र बनायो । मलेसियाका लागि सेयद अजिज मुबारकले २० रन बनाए । २१ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । यस्तै भिरन्दीप सिंहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
यता नेपालका लागि सन्दीप लामिछानेले सार्वाधिक ५ विकेट लिएर मलेसियाली ब्याटिङलाई धारासायी बनाए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन खर्चिएर ५ विकेट चट्काए ।
यस्तै कप्तान दीपेन्द्र सिंह ऐरील र साहव आलमले समान २/२ विकेट लिए भने अनिल कुमार शाहको नाममा एक विकेट रह्यो ।
२ ओभर बलिङ गरेका कप्तान दीपेन्द्रले १ मेडेन ओभर फ्याँक्दै १ रन खर्चिए भने ३ ओभर बलिङ गरेका शाहव आलमले ३ रन दिएर २ विकेट लिए । मलेसियाले सुरुवातमा राम्रो स्कोर ल्याएको थियो । तर त्यसलाई नेपाली बलरले टिक्न दिएनन् ।
ओपनर जोडीको रुपमा मैदान छिरेका आशिफ सेख र अनिल कुमार शाहले २७ रनको साझेदारी गरे । २६ बलको सामना गरेका उनीहरुले २ छक्का र २ चौका प्रहार गरे । नेपालका लागि आक्रामक ब्याटिङ थालेका अनिल कुमार शाहले १५ बलमा २६ रन बनाए । उनले ३ छक्का र एक चौका प्रहार गरेर नटआउट रहे ।
यस्तै मोहम्मद हाजिफको हातबाट क्याच आउट हुनुअघि कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रामक खेल्दै ३ बलमा १२ रन पुर्याए । उनले लगातार २ छक्का प्रहार गरे । यस्तै १ बलको सामना गरेका भीम सार्कीले ३ रन हानेर नटआउट रहे ।
प्रतियोगितामा सन्दीप लामिछाने म्यान अफ दि म्याच घोषित भए ।
समूह ‘ए’ कै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। यो खेल पनि वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको थियो। खेल ३२ ओभरमा घटाइएको छ। उक्त खेलमा भारतले बंगलादेशलाई १८७ रनको लक्ष्य दिएको छ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
अघिल्लो चरणमा प्रवेश गर्नका लागि नेपालले आजको खेल जितेर मात्र पुग्दैन । बंगलादेशले भारतलाई हराउनैपर्ने हुन्छ । यसअघि नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको थियो भने भारतलाई १९ रनले हराएको थियो ।
समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपालको पनि यो खेलसँगै ४ अंक भएको छ। भारतको २ अंक बटुलेको छ।