काठमाडौँ– बढ्दो उमेरसंगै व्यक्तिमा डायवेटिक रेटिनेपेथीको जोखिम पनि बढ्ने गरेको पाइएको छ ।


ADVERTISEMENT


भर्खरै मात्रै सम्पन्न मधुमेह सप्ताह लगत्तै बुधवार तिलगंगा आँखा अस्पतालद्धारा मधुमेहले आँखामा पार्ने जोखिम सम्बन्धमा आयोजित सचेतना कार्यक्रममा बोल्दै भिट्रियो–रेटिना विशेषज्ञ डा. रबा थापाले सो जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


‘मधुमेहले आँखाको पर्दामा पार्ने असरका कारण अन्धोपनको जटिलता समेत निम्त्याउने यो रोग ४० वर्ष उमेरसम्मका समूहमा यसको जोखिम ४ प्रतिशत रहेको हुन्छ भने, ६० वर्ष पुग्दा व्यक्तिमा यसको जोखिम बढेर ९ प्रतिशत पुगेको देखिएको छ’, उनले भनिन् ।

त्यसैले मधुमेह भएका प्रत्येक व्यक्तिले नियमित रुपमा आफ्नो आँखाको परीक्षण गराउनुपर्ने डा. थापाको भनाई छ । लक्षणविहिन हुने भएकाले अधिकांश मधुमेह बिरामीमा यसको जोखिम बढ्दै गएको बताउँदै उनले भनिन्, ‘पहिलो प्रकारको मधुमेह भएको २० वर्षमा करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब २ तिहाई बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर पारिसकेको हुन्छ । जसकारण समयमै उपचार अभावका कारण मधुमेह बिरामी अन्धोपनबाट शिकार हुनुपर्ने अवस्था समेत सिर्जना भएको पाइन्छ ।’

तुलनात्मक रुपमा विलासी एवम् निस्क्रिय जीवनशैलीका कारण यसको जोखिम ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रका व्यक्तिमा धेरै हुने जानकारी दिदैँ उनले व्यक्तिमा अनियन्त्रित सुगर, सुगर लागेको लामो अवधि, रगतमा अधिक चिल्लो पदार्थ हुनु, उच्च रक्तचाप एवम् सुगरले मिर्गाैलामा पार्ने असर नै यसका प्रमुख कारण रहेको बताइन् ।

यस्तै, यससम्बन्धि आम व्यक्तिमा जनचेतनाको कमी हुनु र सम्बन्धित विशेषज्ञ आफैँ बिरामीको पहुँचसम्म पुग्न नसक्नु नै यसको प्रमुख चुनौती रहेको बताउँदै उनले भनिन्, ‘यसको रोकथामका लागि हामी सबैजना उत्तिकै जिम्मेवार रहेका छौँ ।’

मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’ सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले’डायवेटिक रेटिनोपेथी दिवस’ मनाउदै विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दै आएको छ ।  यद्यपि अझै आवश्यक जनसमुदायसम्म यस सम्बन्धमा उचित सन्देश पुग्न नसकेको उनको गुनासो छ । यसका लागि उचित जनचेतना सहितको आवश्यक समाचारहरु प्रवाहका निम्ति उनले सञ्चारकर्मीसंग आग्रह समेत गरेकी छन् ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीनमध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने हुन्छ ।

मधुमेह लागेका व्यक्तिमा ह्रदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुणा बढी रहन्छ । यस्तै,  मृगौलाले काम नगर्ने जोखिम मधुमेहका विरामीमा १० गुणा बढी रहन्छ । संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेह रोगीले आफ्नो खुट्टा गुमाई रहेका छन् भने, प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान हुन नसकेको अन्तराष्ट्रिय मधुमेह संघको तथ्यांकले देखाएको छ ।

यद्यपि मधुमेह सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधो उपचारका माध्यमबाट सजिलै ५० प्रतिशत भन्दा बढिमा रोकथाम गर्न सकिने विशेषज्ञहरु बताउँछन् ।