नारायण अधिकारी, चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उनले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताए । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उनले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए ।

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उनको भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उनले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गरे। कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उनले सुझाव दिए।

देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उनले यसका पछि धेरै कारण रहेका छन् भने । उनले भने, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उनले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताए । उनले भने, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताइन् । उनले नारायणी नदी तटबन्धनका लागि तीन वर्षमा रु पाँच अर्ब बराबरको काम गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन् ।

यसबाट चितवनतर्फ १७ किलोमिटर र नवलपरासीतर्फ १८ किलोमिटर तटबन्धन हुने बताइन् । यसै वर्षबाट काम थाल्ने भन्दै उनले सुस्ता र गण्डकसम्म नारायणी नदी तटबन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्, “नारायणी नदी तटबन्ध गरेर सयौँ बिघा जमिन व्यवस्थापन गर्न सकिन्छ ।” उनले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखामुनि रहेकालाई उपयोग गर्न दिन सकिने बताइन् । उनले भनिन्, “यसरी गरिबमुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”

माडी क्षेत्रका नदी तटबन्धका लागि रु २० करोड स्वीकृत भई कार्यान्वयनको चरणमा अघि बढेको उनको भनाइ थियो । जहाँ खेतीयोग्य जमिन त्यहाँ सिँचाइ अभियानका साथ काम अघि बढेको मन्त्री भुसालले बताइन् । माडीमा विद्युत नपुगेका ठाउँमा विद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिछ्याउनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको उनले बताइन् ।

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताए । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आफू तयार रहेको उनको भनाइ थियो । जग्गा खोजी गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आवश्यक सहयोग मन्त्रालयबाट हुने उनले बताए । आफू गठबन्धनको सरकारको मन्त्री रहेकाले गठबन्धन पार्टी र जनताको हितविपरीत काम नगर्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीलाई खर्चसहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने बताए । भरतपुर विमानस्थल विस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसँग अनुरोध गरे । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उनले भने, “गठबन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”

राज्यमन्त्री उमेश श्रेष्ठले समृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच, नीति र ऐन समयअनुसार परिवर्तन हुन जरुरी रहेको बताए । उनले भरतपुरको विकासका लागि आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतले बोलेका थिए । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको विकास, अवस्था र अपेक्षा प्रस्तुत गर्दै आफू आएपछि महानगरमा भएका विकासका कामको जानकारी दिइन् । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो । रासस