काठमाडौँ – महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो खेलमै हार व्यहोरेको छ । सोमबार नेपाली महिला टोली हङकङसँग ६ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनायो । जवाफी ब्याटिङ थालेको हङकङले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हासिल गर्यो ।


ADVERTISEMENT

# # #


हङकङका लागि आपेनर मारिको हिलले शानदार ब्याटिङ गरिन् । उनले ४२ बलमा ४ चौकासहित ४४ रन बनाइन् । यस्तै कप्तान केरी चानले १७, नतासा माइल्सले १६ तथा इम्मा लाईले नटआउट ९ रनको योगदान दिए भने यस्मिन अस्वानी २ रन बनाएर आउट भइन् । नेपालका लागि सबनम राई, सीता रानामगर र कविता कुँवरले समान १–१ विकेट लिए ।

यसअघि नेपाललका लागि सीता रानामगरले सर्वाधिक नटआउट ४० रनको योगदान दिइन् । त्यसक्रममा उनले ५८ बलमा ४ चौका हानिन् । यस्तै इन्दु बर्माले ३७ बलमा ३ चौकासहित ३१ रनको योगदान दिइन् । नटआउट कविता कुँवर डकआउट हुँदा काजल श्रेष्ठले २३ बलमा ४ रन तथा कप्तान रुबिना क्षेत्री १ बलमा २ रन बनाएर नटआउट रहिन् ।

हङकङका लागि केरी चान र बेट्टी चानले समान १–१ विकेट लिए ।

नेपालले दोस्रो खेल भोलि भुटानको महिला टोलीसँग खेल्नेछ ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले हङकङसगैँ भुटान, घरेलु टोली युएइ, कुवेत र मलेसियासँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।