पर्वत – नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि  ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई  ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको हो ।


ADVERTISEMENT


केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ भए पनि पर्वतमा भने यो लागु भएन ।


ADVERTISEMENT

# # #


जिल्ला सभापतिका लागि  एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि  ५० हजार रुपैयाँ तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि  २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै क्षेत्रीय सभापतिका लागि  १५ हजार रुपैयाँ तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि  १० हजार रुपैयाँ तोकिएको छ ।

कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताए । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उनले भने, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।”

केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई  १० हजार रुपैयाँ, उपसभापति र सचिवका लागि  सात हजार रुपैयाँ, सहसचिवका लागि छ हजार रुपैयाँ र सदस्यका लागि तीन हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई  पाँच हजार रुपैयाँ, उपसभापति र सचिवलाई तीन हजार रुपैयाँ, सहसचिवलाई  दुई हजार ५०० रुपैयाँ र सदस्यलाई  दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । रासस