काठमाडौं – सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । ई–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् ।


ADVERTISEMENT


राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा मन्त्री खड्काले दिउँसो २ बजे ई–पासपोर्ट वितरणको औपचारिक सुरुवात गर्ने कार्यक्रम तय छ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले सुरक्षित मानेको ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो भनिएको छ । राहदानी विभागका अनुसार ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय, सुरक्षित र भरपर्दो हुन्छ । अधिकांश विकसित देशले ई–पासपोर्ट प्रयोगमा ल्याइसकेका छन् ।

ई–पासपोर्टमा व्यक्तिगत सूचनासँगै वाहकको ‘बायोमेट्रिक डाटा’ राखिन्छ । जसले पासपोर्टलाई थप सुरक्षित गर्छ । ई–पासपोर्टमा मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुन्छ । पासपोर्टवाहकको औँठा छाप, आँखाको नानी र तस्वीर पनि ई–पासपोर्टमा हुन्छ । ई–पासपोर्टबाट भिसाका लागि आवेदन गर्दा सम्बन्धित व्यक्तिको यसअघिको यात्रा विवरण, भिसा स्वीकृति विवरणलगायत सहजै देखिन्छ । ई–पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुने सम्भावना रोकिने सरकारको विश्वास छ ।