काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलेकतारको महिला क्रिकेट टोली विरुद्धको पहिलो खेलमा शानदार जित हात पारेको छ । महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि टी–२० सिरिज खेल्न कतार पुगेको नेपाली टोलीले मंगलबार कतारलाई ११९ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


इन्दु बर्माले नेपालका लागि पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हान्दा दोहास्थित वेष्ट इन्ड पार्क स्टेडिययममा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनायो । १४७ रनको विशाल चुनौति पच्छ्याउँदै मैदान छिरेको कतार नेपालको घातक बलिङसामू निरीह साबित भयो ।


ADVERTISEMENT

# # #


कतार ११.५ ओभरमा सबै विकेट गुमाउँदै २७ रनमै समेटियो । कतारका लागि कुनै पनि ब्याटरले दोहारो अंक छुन सकेनन् ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन् । यसअघि कविता कुँबरले दोस्रो ओभरमै कतारका दुई विकेट लिएर खेल नेपालको पक्षमा ल्याइन् भने सीता राना मगरले थप २ विकेट लिँदा करुणा भण्डारीले आफ्नो नाममा एक विकेट लेखाइन् ।

यसअघि नेपालका लागि इन्दु बर्माले रिटायर्ड हर्ट हुनुअघि उनले ४७ बलमा ५ चौकासहित महत्वपूर्ण ५५ रन बनाइन् । यस्तै सीता रानामगरले ३३ बलमा ५ चौकासहित ३९ रन जोडिन् । इन्दु र सीताले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे ।

यस्तै सरिता मगरले २१ बलमा २ चौकासहित २१ रन बनाइन् भने कविता कुँवर ८ रनमा नटआउट रहिन् । कतारका लागि एन्जेलिन मारे र सविजा पनायनले समान १–१ विकेट लिए ।

नेपाल र कतारबीचको दोस्रो खेल भोलि हुँदैछ ।

कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् । छनोट खेल भने आगामी मंसिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ ।