झापा – झापामा छिमेकीको हत्या गरी सेफ्टीट्यांकीमा शव व्यवस्थापन गरेको खुलेको छ । पुरानो रिसइबीका कारण गौरादह–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको छिमेकीले हत्या गरेर शव नै गायब बनाउन खोजेको खुलेको हो ।


ADVERTISEMENT


गत ११ कात्तिकमा बेपत्ता भएका मियाँको शव २६ गते छिमेकी महम्मद सद्दामको सेफ्टीट्यांकीमा फेला परेको थियो । १५ कात्तिकमा मियाँकी श्रीमती नुरजन खातुनले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । निवेदनको आधारमा खोजतलास गर्दा मियाँको शव छिमेकीको सेफ्टीट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मियाँको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गौरादह–५ का महम्मद सद्दाम, उनकी श्रीमती सुमेरन खातुन, सद्दामकी दिदी कुर्सुमान खातुन, महम्मद सुलेमान र उनकी २२ वर्षीया श्रीमती रुक्सार खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सोमबार प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

मियाँ हराएकै दिन राति १० बजे उनको हत्या भएको प्रहरीले जनाएको छ । ‘हत्या गरेर महम्मद सद्दाम भारत भागेको प्रारम्भिक बयानमा स्वीकार गरेका छन्,’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले भने, ‘पछि चर्चा नभएको जस्तो लागेपछि सेफ्टी ट्यांकीमा हालेको शव कसरी थाहा हुन्छ भनेर घर आएको देखिन्छ ।’

मियाँको खोजीका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २६ कात्तिकमा छिमेकी महम्मद सद्दामको घर खानतलासी गरेको थियो । सो क्रममा मियाँको शव सेफ्टी ट्यांकीमा कम्बलले बेरेर राखेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । ‘खानतलासीको क्रममा एउटा कोठामा गेरु रंगले चारैतिर भित्री गाह्रो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रिलमा रगतजस्तो रातो पदार्थ देखिएपछि प्रहरीलाई शंका लाग्यो,’ उनले भने, ‘कोठाको बाहिर शौचालय छ । शौचालयको सेफ्टीट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुइँठा बनाएर ट्यांकीमाथि चाङ लगाएर राखेको अवस्थामा भेटियो । सेफ्टी ट्यांकीभित्र खोजी गर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेर कम्बलमा पोको पारेर फालेको अवस्थामा भेटियो ।’

प्रहरी उपरीक्षक भट्टराईले अनुसन्धानको क्रममा रहेको भन्दै हत्याको कारणबारे जानकारी दिएनन् । तर, घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पुरानो रिसइबीले पाँचजना छिमेकी मिलेर मियाँको हत्या गरेका हुन् । ‘सद्दामकी श्रीमतीलाई फोन गरेको निहुँ रहेछ । यता सुलेमानको ससुरालाई यसअघि मृतक मियाँले बलात्कारको मुद्दा हाल्न उकासेको रिसइबी देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘यही निहुँले हत्याको अवस्था निम्त्याएको देखिन्छ ।’

मियाँको शव सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा पाँचजनाले हत्या स्वीकार गरेको र बाँकीको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । जिल्ला अदालतबाट म्याद थप गरेर पक्राउ परेकामाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । घटनामा प्रयोग भएका धारिलो हतियार दाउ, छुरी, घनलगायत हतियार पनि फेला परेको प्रहरीले जनाएको छ ।