राजेन्द्र पूसाद पनेरु, कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाख रुपैँयाभन्दा बढी आम्दानी गर्छन् ।


ADVERTISEMENT


दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उनले माछापालन गरेका छन् । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरेको छ । विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लाग्नुभएका चौधरीले पोखरी निर्माणमा तीन लाख रुपैँया खर्च गरेका छन्। माछाका भुरा र दाना खरिदका लागि दुई लाख ५० हजार रुपैँया खर्च लाग्ने गरेको छ । यसवर्षको हालसम्म उनले पाँच क्विन्टल माछा एक लाख ५० हजार रुपैँयामा बिक्री गरे । माछाका भुरा भने पाँच लाख रुपैँयाको बिक्री भइसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


‘मत्स्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) ल्याएर आउछौं’, चौधरीले भन्छन्, ‘पोखरीमा केही दिन हुर्काएर फिङ्गर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दैआएका छौं ।’ चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । ‘पहिला आठ नौ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालनको कार्य गर्दै आएका थियौं । घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कदैन्थ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए’, विगतका दिन सम्झिदैँ उनले सुनाए ।

माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । भुरासमेत हुर्काएर बेच्न थालेपछि आम्दानी चाहेजस्तै हुदैँ आएको उनको अनुभव छ । पहिला माछापालनका लागि परम्परागत रुपमा बनाइएको एउटै पोखरी बाहेक अन्य जग्गामा अन्नबाली लगाउने गरिएको थियो ।

अन्नबालीबाट वर्षमा मुस्किलले ३० हजार रुपैँया मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको चौधरी बताउँछन् । उनका अनुसार, व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको छ । उनले पोखरी बनाइ बाँकी रहेको जग्गामा व्यावसायिक रुपमा आलुखेती गर्दै आएका छन् । कार्डिनल जातको आलुखेती गर्दै आएका चौधरीले प्रतिवर्ष १२० क्विन्टल आलु पनि उत्पादन गर्छन् । उत्पादित आलु बिक्री गरेर उनले अतिरिक्त आम्दानी हात पार्ने गरेका छन् ।

यसवर्ष बेमौसमी वर्षाका कारण आलु रोप्न पाएका छैनन् । समयमै आलु रोप्न नपाउँदा उत्पादन घट्ने उनको चिन्ता छ । माछाका भुरा र आलु बिक्रीको रकमबाट चौधरीले दुई छोरालाई काठमाडौँमा राखेर उच्च शिक्षा पढाउँदै आएका छन् । माछाका भुरा र आलु बिक्रीको रकमले सिँचाइका लागि बोरिङ, खेत जोत्नका लागि ट्र्याक्टरसमेत खरिद गरेको उनले बताए । ‘भविष्यका लागि केही रकम बैंकमा बचत गर्ने कार्यसमेत हुँदै आएको छ’, सुनाउँदै उनले भने, ‘जोखिमबाट जोगिनका लागि जीवन बीमा समेत गराएका छौं । आलुखेती र माछाकोसमेत बीमा गर्ने योजना छ ।’ रासस