डोटी– बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ ।


ADVERTISEMENT


कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरोमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले राहत प्रदान गरिएको हो । यसैगरी एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप रु एक लाखका दरले राहत प्रदान गरिएको प्रजिअ विष्टले जनाएका छन् ।

जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन् । सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो । यसैगरी बाढीपहिरोबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रजिअ विष्टको भनाई छ । ‘अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ, अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ’, उनले भने ।

यहाँका बाढीपहिरो पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिए । यसैगरी जिल्लाको जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप रु २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जनाए ।

बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकाश पीडितको पालमुनी बास भएको छ । रासस