काठमाडौं – लामो समयदेखि  चलिरहेको नेपाली कमेडी  शो ‘मुन्द्रेको कमेडी क्लब’  बन्द भएको छ ।  सोमबारदेखि हास्यकलाकार जितु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको नेपाली कमेडी  शो ‘मुन्द्रेको कमेडी क्लब’  बन्द भएको हो ।


ADVERTISEMENT


सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले जानकारी दिए अनुसार प्रत्येक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा कलाकारको तालमेल अभावले कार्यक्रम बन्द गर्नुपरेको हो ।


ADVERTISEMENT

# # #


शो निर्माण गरिरहेको कम्पनी कि एडभर्टाइजिङले आफूसँग कुनै सल्लाह नगरी फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन शो गर्ने घोषणा गरेपछि मुन्द्रेको कमेडी क्लबु बन्द गर्ने निर्णय लिएको सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक नेपालले बताए।

पछिल्लो समय रियालिटी शोहरू करिब २६–२७ भागमै सकिँदो रहेछ। तर आफूहरूले धेरै दुःख गरेर जसोतसो अहिलेसम्म ल्याएको भन्दै कलाकार नेपालले टिमवर्कमा गडबडी भएकाले बन्द गर्ने बहाना मिलेको बताए।

‘हामीले मुन्द्रेको कमेडी क्लब बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्को कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले पत्रकार सम्मेलनमा भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका राई केही समय अघिनै बाहिरिइसकेका छन्। तर, जितुले एक कलाकारले छाड्दैमा कारण कार्यक्रम बन्द गर्नुपर्ने अवस्था नहुने जिकिर गरे।

उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो तर निर्माण एजेन्सीले सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजन कार्यक्रम बनाएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले दाबी गरे।

‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले आफूसँग सल्लाह नै नगरी उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने।