काठमाण्डौं-चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ । शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो । नेत्रविक्रम चन्द ‘विप्लवका कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो ।


ADVERTISEMENT

# # #


रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई ‘राजनीतिक प्रतिशोधु का रूपमा समेत विश्लेषण गरिएको थियो ।

सचिव सापकोटाले चुनाव भाँड्ने तत्वमाथि विशेष निगरानी राखेर तत्काल पक्राउ गरी चुनाव अवधिभर थुनामा राख्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका छन् । ‘चुनाव भाँड्ने तत्वबारे सूक्ष्म निगरानी हुनुपर्‍यो । जहाँ भेटिन्छ पक्राउ गर्नुस् । सरकारकै मन्त्रीमाथि समेत आक्रमण भइरहेको छ । सुरक्षा कमजोरी हुन नदिनोस्, सापकोटाले अर्याललाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘विप्लव माओवादीका कार्यकर्तामाथि विशेष निगरानी गर्नुस् ।

राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन कमजोरी भएको भन्दै चनाखो रहन विभागका प्रमुख दिलीप रेग्मीलाई समेत सचिव सापकोटाले कडा नर्देशन दिए । सापकोटाले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि सीमा सुरक्षामा विशेष चनाखो रहन निर्देशन दिएका थिए ।

वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट हुनुपर्ने निर्देशन दिए । विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए । स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले शनिबार सुरक्षा समीक्षा बैठक बसेको बताए । ‘निर्वाचनविरोधी गतिविधि गर्ने तत्वमाथि निगरानी राख्न, पक्राउ गर्न र उम्मेदवारसँगै मतदाता र मतदान अधिकृतको सुरक्षामा चनाखो रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छु, उनले भने । शर्माले यो वा त्यो नभनी निर्वाचन भाँड्न खोज्ने जो-कोहीलाई पनि निगरानी गरेर कारबाहीको दायरामा ल्याउने रणनीति गृहले बनाएको जानकारी दिए । -आजको अन्नपूर्णबाट