काठमाडौं – उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्या समाधान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


यात्रुको भीडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, दोहोरो टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवं अनुगमन गर्न टोली परिचालन गरेको छ ।

सादा पोशाकमा प्रहरीले यात्रुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिलाई निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।

तोकिएको टिकट काउन्टरमा परिचयपत्र बाहकले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

विभिन्न टिकट काउन्टरमा आवद्ध भई विना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने चितवनको भरतपुरका ३८ वर्षीय समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसरीका २८ वर्षीेय सविन राई पक्राउ परेका हुन् ।

टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्ने ४६ वर्षीय राज ठकुरी, दाङको घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका २९ वर्षीय रमेश कठायत गोंगबुबाट पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

काठमाडौंको कलंकीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट शुभयात्री काउन्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका ३७ वर्षीय विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।