नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङ :


ADVERTISEMENT


कल्याण जी, दुईवटै चरणको निर्वाचनको मिति नजिकिँदै आइसकेको छ । पहिलो चरणको निर्वाचनको मितिका लागि करिब २० दिन पनि नरहँदा चुनावको वातावरण कस्तो पाउनु भएको छ ?


ADVERTISEMENT

# # #


दुई वटै चरणको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता भइसकेको छ । समावेशी र प्रत्यक्ष दुबैतिरका उम्मेद्वार प्रचारप्रसार गरेर भोट माग्न लागिसकेका छन् । चुनाव लागेकै छ भन्नुपर्छ । चुनावी वातावरण एकदम उत्साहपूर्ण ढंगले अगाडी बढेको छ ।

यसका लागि नेपाली कांग्रेसले कस्तो तयारी गरिरहेको छ ?

सबै उम्मेदवारको छनोट गरेर हामीले घोषणापत्र पनि तयार पारिसकेका छौँ । त्यही अनुसार तयारी पनि भइरकेको छ ।

अहिले देशमा राजनीतिक ध्रुविकरण जुन रुपमा देखिएको छ बाम र अन्य गठबन्धन भएर, त्यसलाई चिर्नका लागि तपाईसंग रणनीतिहरु के-के छन् ?

अहिलेको संविधानलाई कार्यान्वयन गराउने दायित्व नेपाली कांग्रेसको हो । पहिलो कार्यान्वयनका लागि माघ ७ भित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्ने हुन्छ । नेपाली कांग्रेस ती निर्वाचन गराउन प्रतिवद्ध छ । र, तोकिएको मितिमा नै निर्वाचन हुन्छ । जहाँसम्म बाम गठबन्धनको कुरा छ, त्यो नेपालमा कम्युनिस्ट अधिनायकवाद लाद्नका लागि गरिएको गठबन्धन हो । यसले कम्युनिस्ट तानाशाह जन्माउँछ । तानाशाह जन्मिन नदिनका लागि नेपाली कांग्रेस एकदमै प्रतिवद्ध छ । त्यसका लागि नेपाली कांग्रेस अन्य लोकतान्त्रिक शक्तिहरुसंग गठबन्धन गरिरहेको छ ।

निर्वाचनमा उम्मेद्वार उठाउँदै गर्दा जनताले नेपाली कांग्रेसलाई किन भोट दिने ?

नेपाली कांग्रेसलाई जिताउन त अहिले अत्यन्तै आवश्यक भइसक्यो । मनपरेपनि मन नपरेपनि कम्युनिस्ट तानाशाहलाई रोक्नका लागि नेपाली कांग्रेसलाई नै भोट हाल्नु पर्छ । नेपालमा तानाशाहलाई रोक्न सक्ने पार्टी नेपाली कांग्रेस मात्रै हो । भोलि कम्युनिस्ट तानाशाह आएपछि त्यसले कम्युनिस्टहरुलाई पनि बाँकी राख्दैन । कांग्रेस मधेसवादी दल र राप्रपा कसैलाई पनि बाँकी राख्दैन । त्यसैले कम्युनिस्ट तानाशाह जन्मिन नदिनका लागि अधिनायकवादलाई रोक्न सक्ने एकमात्र पार्टी नेपाली कांग्रेस हो । अहिले नेपाली कांग्रेसलाई भोट हाल्ने भनेको कम्युनिस्ट अधिनायकवादलाई रोक्नका लागि हो ।

अर्को अहिले नेपालमा जुन लोकतान्त्रिक संविधान छ, त्यसको कार्यान्वयन त्यतीबेला मात्र हुन्छ । जब नेपालमा लोकतान्त्रिक जीवित र सृदृढ हुन्छ । लोकतन्त्रलाई जीवित र सुदृढ गर्ने काम नेपाली कांग्रेसले मात्रै गर्नसक्छ । कम्युनिस्ट तानाशाहले यसलाई समाप्त गरिदिन्छ । त्यसैले यो संविधान कार्यानवयन गराउनका लागि पनि नेपाली कांग्रेसलाई भोट दिन आवश्यक छ । तेस्रो समृद्धिको लागि । आम मानिसको निजी सम्पतीलाई सुरक्षित राख्दै समृद्धिको दिशा तर्फ मुलूकलाई लैजान आवश्यक छ । यदि नेपाली कांग्रेसलाई बहुमत आयो भने बहुमतको सरकार निर्माण गरेर मुलूक समृद्धिको दिशातिर जान्छ । त्यसका लागि पनि नेपाली कांग्रेसलाई भोट दिनुपर्छ ।

ती सबै कुराहरुलाई आम जनतामाझ बुझाउनका लागि नेपाली कांग्रेसले कत्तिको गृहकार्य गरिरहेको छ ?

कांग्रेसले अहिले मात्रै होइन, पहिलेदेखि गरिरहेको हो । यी सबै कुराहरु छर्लङ्गै छ । जस्तै हिजो केही मात्र सरकारी बैँकहरु थिए । आज गाउँगाउँमा बैँक पुगेको अवस्था छ । हिजो स्कुल जानका लागि एकदुई घण्टा हिँडेर जानुपथ्र्यो । तर, आज प्रत्येक वडामा स्कुल खुलेका छन् । हिजो अधिकांश जिल्ला सदरमुकाममा सडक पुगेको थिएन । तर, आज अधिकांश जिल्ला सदरमुकाममा सडक पुगेको छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ । संघियताको कार्यान्वयन तर्फ मुलूक अगाडी बढिरहेको छ । यसको मतलब के हो भने विकास त भइरहेको छ नि । तर जति हुनुपर्ने हो त्यो मात्रामा भएन भन्ने हो । भोलिका दिनमा नेपाली कांग्रेसले लिने आर्थिक नीतिले पूजीँको जम्मा गर्छ । नेपाली कांग्रेस नेपालको ढुकुटी रित्तिन नदिएर पूजीँ संकलन गरेर त्यसको वितरण कसरी गर्ने ? विकासका कामहरु कसरी अगाडी बढाउने, सामाजिक सुधारका कामहरु कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको छ ।

अन्त्यमा, चुनाव नजिकिँदै आइरहेको छ । मतदाताहरुलाई तपाईको भन्नेकुरा के छ ?

एउटै कुरा के हो भने कम्युनिस्ट अधिनायकवादलाई रोक्नु छ । कम्युनिस्टको निरंकुशतालाई रोक्नु छ । त्यसलाई रोक्नका लागि लोकतन्त्रवादी शक्तिहरुले आ–आफ्नोतर्फबाट बलियो बनाउनु पर्छ । लोकतन्त्रवादी शक्ति भनेको नेपाली कांग्रेस हो । लोकतन्त्रलाई जीवित र सुदृढिकरण गर्नका लागि मतदाताले नेपाली कांग्रेसलाई भोट हाल्नुपर्छ ।