काठमाडौं – एसएसपी असाेक सिंहले काठमाडौंमा एक्सन लिँदा महानगरीय प्रहरी परिसर काठमाडौंको १५ हिरासतकक्ष दशैंकाे मुखमा चाेरी र पाकेटमार गर्नेहरूले भरिएका छन् ।
प्रहरी परिसर काठमाडौंको मातहतका १५ वटै हिरासतकक्षमा चोरी र पाकटेमारसँग सम्बन्धित व्यक्तिहरु टनाटन भएका छन् ।
एसएसपी असाेक सिंहले पर्वलक्षित चलाएको विशेष अपरेसनमा काठमाडौं प्रहरीले २ सय सात चोरी र पाकेटमारसँग सम्बन्धित व्यक्ति पक्राउ भएका हुन् ।
प्रहरीले २० दिनको अपरेसन गरेकोले प्रहरीले ठूलो संख्यामा चोरी र पाकेटमारसँग सम्बन्धित अभियुक्त पक्राउ गरेको एसएसपी सिंहले बताए । उनीहरूमध्ये ४६ लाई भने ठूला मुद्दा भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको एसएसपी सिंहले जानकारी दिएका छन् ।
सिंहले बताए अनुसार बाँकी एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । उनीहरूलाई अहिले मातहतका १५ हिरासत कक्षमा बाँडेर राखिएको छ । पक्राउ पर्ने अभियुक्तको संख्या ठूलो, तर हिरासतकक्ष साँघुरो हुँदा उनीहरूको व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।
‘२० दिनको अपरेसनमा हामीले दुई सय सात चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्त पक्राउ गरयौं। त्यसमध्ये ४६ जना जेलमा छन् । बाँकी हाम्रै हिरासतकक्षमा छन् । त्यसैले अहिले हाम्रा सबै हिरासतकक्ष चोरी र पाकेटमार धन्दामा संलग्न अभियुक्तले भरिएका छन्,’ काठमाडौं परिसर प्रमुख एसएसपी अशोक सिंहले भने ।
सिंहले थपे ‘धेरै अभियुक्त नयाँबानेश्वर, महाराजगन्ज, बालाजु, बौद्ध, कलंकी क्षेत्रबाट पक्राउ परेका छन् । यसमा सबै वृत्तको सक्रिय भूमिका छ । विशेष गरी सार्वजनिक बसमा यात्रा गर्ने यात्रु लुट्नेहरू धेरै पक्राउ परेका छन् ।’
पर्वका वेला हुन सक्ने सम्भावित अपराध रोक्न प्रहरीले यो अपरेसन चलाएको एसएसपी सिंहले बताए । ‘यो पर्वको समय हो । यसवेला मौका ढुकेर बसेकाहरूले अपराध गर्न सक्छन् । विगतका घटनाले यसलाई पुष्टि गरेको छ । यस्ता घटना हुन नदिन हामीले अपरेसन चलाएका हौँ,’ उनले भने ।