काठमाडौं – नेपालमा भारतीय दूतावासको सक्रियतामा १ सय ५२ औं गान्धी जयन्ती धुमधामसँग मनाइएको छ । महात्मा गान्धी भारतका एक महापुरुष जसले अंग्रजलाई भारतबाट हटाउन ठूलो त्याग तपस्या गरेका थिए । उनलाई भारतीय जनताहरु बापूको नामले पुकार्ने गर्दछन् ।


ADVERTISEMENT


यसैबीच नेपालमा पनि उनको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । गान्धी जयन्तीको अवसरमा शनिबार कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरी कार्यक्रम सुरु भएको थियो ।


ADVERTISEMENT

# # #


भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि २०७८ आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।

सो अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा “स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम” को आयोजना पनि गरेको छ ।

त्यसैगरी भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले अग्रवाल भवनमा नै रक्तदान शिविरको आयोजनासमेत गरेको थियो । उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागिता थियो ।

यता नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना भयो ।
बिहान भारतीय दुतावास प्राङ्गणमा स्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।

विकासको तीब्र गति समातेको भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।