काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् ।


ADVERTISEMENT


मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका अनुसार कालोधन भित्र्याउन सरकारले यस्तो प्रावधान ल्याएको हो र एमालेले यसको प्रतिवाद गर्नेछ । ‘कालोधन ल्याउन दिने पक्षमा छैनौं, कालोधनलाई सेतो बनाउन पाइँदैन,’ उनले भने ।


ADVERTISEMENT

# # #


सरकारले आर्थिक ऐनअन्तर्गत रहेर आयकर ऐनमा संशोधन गरेर ल्याएको लगानीसम्बन्धी व्यवस्थाको विरोध हुँदै आएको छ । आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा सरकारले लगानी भित्र्याउने उद्देश्यले विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन,’ भन्ने व्यवस्था गरेको थियो ।

यसअघि ओली सरकारका तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले पनि आयस्रोत नखोजिने सन्दर्भमा बजेटमा व्यवस्था गर्दा चर्को विरोध भएको थियो र पछि खतिवडाले त्यो व्यवस्था हटाएका थिए ।

अवैध धनलाई वैधानिक बनाउने उद्देश्यसहित सरकारले आयकर ऐन संशोधन गरेकोे भन्दै यसअघि विभिन्न राजनीतिक दलसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले विरोध गरेको थियो । तर, यो व्यवस्थाको अर्थ मन्त्रालयले बचाउ गर्दै आएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ ग लाई संशोधन गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा संवत् २०८० साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्था गरिएको हो । यसलाई गलत अर्थ लगाइँदा विरोध भइरहेको अर्थका अधिकारीहरूले जिकीर गर्दै आएका छन् ।आार्थिक अभियान दैनिकबाट ।