झापा – पूर्वस तीजकोन्ध्यामा दमक नगरपालिकाले महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ ।


ADVERTISEMENT


दमक नगरपालिका–५ मा शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीपमूलक तालिम दिएको थियो । महोत्सवमा पूर्वाञ्चल बहिरा सङ्घ, दमक अपाङ्ग सहयोग समिति र भूटानी शरणार्थी अपाङ्ग सङ्गठनमा आबद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ । सुनको जस्तै देखिने ग्यारेन्टीका गहना, ढाकाटोपी, ढाकाका कपडा, गुडिया, कपासको बाती, चुरा, पोते र मालालगायतका अनेकन सामान प्रदर्शनीमा राखिएका छन् ।


ADVERTISEMENT

# # #


तालिम लिएका धेरै महिला समूहले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने र उनीहरुलाई प्रोत्साहन दिने उद्देश्यले तीजको अवसर पारेर महोत्सवको आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताए । तीज नाचेर, गाएर र तामझाम गरेर मात्र मनाउने पुरानो परम्परालाई परिमार्जन गर्दै महिलाहरुलाई उत्पादनसँग जोड्ने नयाँ कार्यको थालनी गरिएको उनको भनाइ छ । “सीप सिकेका धेरै दिदीबहिनीले गुणस्तरीय समाग्रीको उत्पादनसहित व्यावसायिक बन्नुभएको छ”, उनले भने, “तर, उहाँहरुले उत्पादन गरेका सामग्रीको प्रचार नहुँदा बजारीकरण हुन सकेको छैन । हामीले सानो अभ्यास गरेका छौँ । यसबाट उहाँहरुलाई भविष्यमा सहयोग पुग्ने पनि अपेक्षा छ ।”

दमक नगरपालिकाको नारा नै छ ‘दमकका महिला उद्यममा पहिला’ । गत वर्षदेखि नै यो कार्यक्रमको थालनी गर्ने सोच बनाएको नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण गर्न नसकेको नगरका प्रमुख रोमनाथ ओलीले बताए । महिलाले आफ्नै सीप र श्रममा उत्पादन गरेका सामानलाई बजारमा लैजान र आयआर्जन वृद्धिमा सघाउन नगरपालिकाले आगामी दिनमा थप प्रयास गर्ने उनले बताए ।

सामाजिक दूरी कायम गरेर १० वटा स्टलमा स्थानीय महिलाले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिएको छ । आत्मज्ञान महिला समूहले महोत्सवमा परम्परागत ग्यारेन्टीका गरगहनाको स्टल राखेको छ । नगरपालिकाले तालिम दिएर गहना बनाउन सिकाएपछि महिला समूहले कण्ठ, शिरफूल, शिरबन्दी, नाकढुङ्ग्री, मारवाडी, छड्के तिलहरी, माइली, साइली र कान्छी तिलहरीलगायतका गरगहना बनाउने गरेको समूहका अध्यक्ष इन्दिरा प्रसाईले बताए । उनीहरुले बनाएको गहना हेर्न महोेत्सवमा भीड लागेको थियो ।

दमक नगरपालिका क्षेत्रका एकल महिलाले अग्र्यानिक कपुरका बाती, पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडलगायतका सामान बनाउँदै आएका छन् । उनीहरुले भारतीय बातीलाई विस्थापित गर्ने उद्देश्यले बनाइएका स्वदेशी बाती महोत्सवमा प्रदर्शन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

कोभिड–१९ का कारण गत वर्षझैँ यसपालि पनि तीज नजिकै आइसक्दा रौनक कहीँकतै देखिएको छैन तर नगरपालिकाले महिलाको उत्पादनलाई महत्व दिएर तीजको अवसरमा आयोजना गरेको महोत्सवले अन्यत्रका महिलामा समेत सकारात्मक सन्देश प्रवाह गरेको झापा जिल्ला समन्वय समितिकी सदस्य सुशीला अधिकारीले बताइन् ।