काठमाडौँ – आईसीसी विश्वकप ओडीआई लिग २ को ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम क्वारेन्टिमुक्त भएको छ ।


ADVERTISEMENT


मंगलबार ओमान पुगेको १७ खेलाडी सहित २२ सदस्यीय नेपाली क्रिकेट टोली एक दिनको क्वारेन्टिन अवधि पूरा गरेको हो । ओमानमा विदेशबाट आउनेहरुलाई एक दिनको क्वारेन्टिनमात्रै तोकिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपाली टोलीका सबै सदस्यहरुको कोरोना रिर्पोट नेगेटिभ आएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । रिर्पोट नेगेटिभ आएसँगै नेपालले भोलिदेखि सिरिजका लागि अभ्यास थाल्नेछ । नेपालमा मौसमले साथ नदिएपछि नेपाली टोली करिब सिरिज सुरु हुनु तीन हप्ता अघि नै हिजो (मंगरबार)ओमान प्रस्थान गरेको थियो ।

नेपालले करिब १० दिन अभ्यासपछि पपुवा न्यूगिनीसँगै सेप्टेम्बर ५ र ८ मा दुई एकदिवसीय खेल्दैछ । उक्त दुई खेलले त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोलीलाई सघाउने पुग्ने क्यानको विश्वास छ ।

नेपालले त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म ओमानको अल अमेरत क्रिकेट स्टेडियममा खेल्ने छ । नेपालको पहिलो खेल सेप्टेम्बर १३ मा अमेरिकासँग रहेको छ । खेल स्थानीय समय अनुसार अपरान्ह २ः३० बजे नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे खेल्नेछ ।

सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको आधारशीलाका रुपमा रहेको ओडीआई लिग–२ मा नेपालले ६ वटा देशसँग होम, अवे र तटस्थ मैदानमा ३६ वटा खेल खेल्दैछ । जसमध्ये नेपालले हालसम्म ४ वटा खेल मात्रै खेलेको छ । सन् २०२० को जनवरीमा घरेलू मैदानमै नेपालले ओमान र अमेरिकासँग खेलेको थियो । जसमा नेपाल अमेरिकासँगका दुवै खेलमा जितेको थियो भने ओमानसँगका दुवै खेलमा हार व्यहोरेको थियो ।

लिगको अंक तालिकामा १० खेलमा ८ जित र २ हारसहित ओमान १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा ६ जित र ६ हारसहित १२ अंकका साथ अमेरिका दोस्रो स्थानमा रहेको छ ।

यता नेपाल ४ खेलमा दुई दित र दुई हारसहित ४ अंकका साथ छंटौँ स्थानमा रहेको छ । यता ८ खेलमा ८ वटैमा हार व्यहोरेको पपुवा न्यूगिनी पुछारमा रहेको छ ।

नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुसन भारी, शरद भेषावकर र विक्रम सोव ।

ओमानमा नेपालको खेल तालिका

एकदिवीय खेल
नेपाल भर्सेस पपुवा न्यूगिनी : ५ सेप्टेम्बर : बिहान ११ः४५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान
नेपाल भर्सेस पपुवा न्यूगिनी : ८ सेप्टेम्बर : अपरान्ह ३:४५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान

ओडीआई लिग–२ अन्तर्गतका खेल

नेपाल भर्सेस अमेरिका : १३ सेप्टेम्बर : अपरान्ह ४ः१५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान
नेपाल भर्सेस ओमान : १४ सेप्टेम्बर : अपरान्ह ४ः१५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान
नेपाल भर्सेस अमेरिका : १७ सेप्टेम्बर : अपरान्ह ४ः१५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान
नेपाल भर्सेस ओमान : १९ सेप्टेम्बर : अपरान्ह ४ः१५ (नेपाली समय) : अल अमेरत क्रिकेट स्टेडियम, ओमान