काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु बुधबार नयाँ दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगे ।


ADVERTISEMENT


प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दर्ता प्रक्रिया टुंग्याउन महन्थ राजेन्द्र पक्षले आफ्ना सबै नेता कार्यकर्तालाई निर्वाचन आयोग पुर्याएका थिए । तर, निलम्बित सांसद रेशम चौधरी भने निर्वाचन आयोगमा देखिएनन् ।


ADVERTISEMENT

# # #


यसअघि टीकापुर प्रकरणमा जेल सजाय भोगिरहेका उनी प्रहरीसँगै आयोग पुगे पछि यस पटक नदेखिँदा मिडियाकर्मीले चासो राखेका थिए । तर, नेता राजेन्द्र महतोले रेशमको सनाखत कारागारबाटै गरिने बताएका थिए । निलम्बनमा परेकाले उनलाई सांसदका रुपमा नभई कार्यकारिणी सदस्यको रुपमा सनाखत गराउने तयारी थियो । तर, अन्त्यमा उनको सनाखत गरिएन ।

गत साउन ११ गते जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा रेशम निर्वाचन आयोग पुगेका र तटस्थ रहने निर्णय गरेका थिए । महन्थ पक्षले जसपाको आधिकारिकता नपाएपछि रेशमले नयाँ दल दर्ताका लागि पनि महन्थ पक्षलाई समर्थन गर्दै आएका थिए ।

तर, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अनुसार केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगेसँगै महन्थ पक्षले रेशमलाई उपेक्षा गरेको भन्दै उनी निकट नेताहरुले असन्तुष्टी जनाएका छन् ।

आफूलाई अप्ठ्यारो पर्दा रेशम चौधरीको सहयोग माग्नेहरु अहिले आफू सहज अवस्थामा पर्दा रेशमलाई बिर्सिको ती नेताको गुनासो छ ।