– जीवलाल भुसाल (महानिर्देशक, उद्योग विभाग)


ADVERTISEMENT


पछिल्लो समय विभागका कार्यसम्पादनहरु कसरी अगाडि बढिरहेका छन् ?


ADVERTISEMENT

# # #


मूलतः उद्योग विभागले आफूले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउनका लागि दुई मोडलमा काम गरिरहेको छ । पहिलो नीतिगत सुधारको काम र दोस्रो सेवा प्रवाह चुस्तदुस्त गर्ने काम । यसैगरी प्रवर्द्धनात्मक काम पनि हामीले गछौँ । अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत रुपमा प्रवर्द्धनात्मक काम गर्न नसके पनि नीतिगत सुधार र सेवा प्रवाहका हिसाबले धेरै महत्वपूर्ण कामहरु गरेका छौँ । जस्तै; नेपालमा विदेशी लगानीलाई कसरी प्रभावकारी बनाउने भनेर त्यसमा अध्ययन गरेकोमा अध्ययनअनुसार लगानी भित्र्याउने गरी काम गरिरहेका छौँ ।

त्यसैगरी नेपालको एउटा मात्रै औद्योगिक सम्पत्ति प्रशासन हेर्ने विभाग भएकाले ट्रेडमार्क र दर्ताका सन्दर्भमा कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने पनि अध्ययन गरेकोमा प्रक्रिया घटाउने र फास्ट ट्र्याकमा अगाडि लैजाने काम भएका छन् । विभागका सेवा प्रभावकारी बनाउन ४० प्रकारका सेवाको सूचि बनाएर वेबसाइटमै राखेका छौँ । त्यसको आधारमा सेवा प्रवाह गरिरहेका छौँ । विभागका सूचना नियमित अपडेट हुने गरी नयाँ वेबसाइट बनाएर सूचनामा पनि चुस्तदुस्त बनाएका छौँ ।

लगानीका हिसाबले यो वर्ष कस्तो रह्यो ?

अघिल्लो आर्थिक वर्षमा हामीले ल्याएका नीति तथा सुधारका कारण यस्तो प्रतिकूल अवस्थामा विदेशी लगानीमा केही कमी आए पनि समग्र लगानीका हिसाबले आव २०७६/७७ मा अघिल्लो वर्षभन्दा बढी लगानी आएको देखिन्छ । आ.व. २०७७/७८ मा १ खर्ब ५६ अर्बको लगानी प्रतिवद्धता आएको छ । त्यसभन्दा अघिल्लो आवमा १ खर्ब ५२ अर्ब लगानी प्रतिवद्धता आएको छ ।

विदेशी लगानी पनि अघिल्लो वर्ष ३७ अर्ब प्रतिवद्धता आएकोमा यस वर्ष ४ महिना लामो लकडाउन भएर प्रतिकूल अवस्थामा पनि ३२ अर्ब ५० करोडको प्रतिवद्धता आएकोमा यो उत्साहजनक नै हो ।

यो लगानी घट्दो छैन, बढ्दो अवस्थामा नै छ भन्ने संकेत हो । प्रतिवद्धतालाई वास्तविक लगानीमा रुपान्तरणका लागि नीतिगत रुपमा निजी क्षेत्रलाई सहजीकरण गर्ने कामहरु आगामी दिनमा हामी गर्छौँ ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन के काम गरिरहनुभएको छ ? 

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकियोस् भनेर यसचोटी हामीले चालू आ.व.को अन्तिम सम्म काम सक्नेगरी विभागलाई पूर्ण डिजिटल प्रणालीमा लिने गरी ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । आगामी वर्षदेखि हामी हाम्रा सबै सेवा डिजिटल माध्यमार्फत दिने लक्ष्य लिएका छौँ । जसले गर्दा विभागमा उपस्थिति नभईकन घरबाटै सबै सेवा लिन सकिने व्यवस्था गर्छौँ, जसले उद्योग क्षेत्रलाई धेरै राहत गर्छ भन्ने लाग्छ । अहिले कुनै पनि उद्योगीले मेरो काम समयमा भएन भनेर गुनासो गर्ने अवस्था विभागमा छैन, एकाध कसैको छुटेको भेटियो भने पनि हामी त्यसलाई फास्ट ट्र्याकमा लाने प्रयास गरेका र्छौँ । कोभिडको प्रभाव कम भयो भने अझ आक्रामक रुपले अगाडि जान्छौँ ।

साना स्तरका उद्योगलाई पनि प्रोत्साहन मिलोस् भन्ने ध्येयले सात वटा प्रदेशबाट एक-एक वटा लघु, घरेलु तथा साना उद्योगलाई वार्षिक रुपमा पुरस्कृत गर्ने गरी बजेट विनियोजन गरेर अघि बढेका छौँ ।

विभागभित्र दर्ता हुने उद्योग मात्र नभएर प्रदेशमा सञ्चालित उद्योगलाई पनि प्रवद्र्धन गरी एउटा सन्देश दिने हिसाबले अघि बढेका छौँ । समग्रमा सेवालाई चुस्तदुस्त बनाउने गरी हामीले महत्वपूर्ण काम गरिरहेका छौँ ।

उद्योगीहरुलाई के भन्नुहुन्छ ?

विभागले उद्योगलाई भन्नुपर्ने कुरा सेवा लिने क्रममा आएर एउटा निवेदन दर्ता मात्र गरिदिएर भएन, यत्ति मात्रै भएको पनि धेरै देखिन्छ । सेवाअनुसार विभागमा पेस गर्नुपर्ने सम्पूर्ण कागजातको सूचि हामीले वेबसाइटमै राखिदिएका छौँ, त्यसअनुसार आवश्यक सबै कागजातहरु पेस गर्न अनुरोध गर्दछु ।

 प्रतिवद्धताअनुसार लगानी गर्नुहोस्, यसमा विभागले गर्नुपर्ने सहजीकरण हामी गर्छौँ ।

सुधार भन्ने कुरा विस्तारै हुँदै जाने कुरा हो, कानूनमा केही समस्या छ भने हामी छलफल गरेर त्यसमा सुधार गर्नुपर्ने कुरा गर्छौँ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीले पहिले २५ प्रतिशत लगानी, उद्योग सञ्चालन हुनेबेलासम्म ७५ प्रतिशत र बाँकी २५ प्रतिशत सञ्चालन पछि गर्नुपेर्ने व्यवस्था गरेको छ । यसलाई हामी सेवासँग जोड्दर्छौँ । यसअनुसार लगानी गरेमा हामीले भिसादेखि आवश्यक सबै सेवा सहज रुपमा दिइरहेका छौँ, प्रशासनमा समस्या छैन ।

फेरि बन्दाबन्दी हुनसक्ने हल्ला चलिरहेको छ । त्यस्तो अवस्थामा सेवा प्रवाहका हिसाबले विभाग कसरी अघि बढ्छ ?

यसमा सरकार पनि गम्भीर छ, हामी पनि गम्भीर छौँ । पहिलो बन्दाबन्दीमा जति वटा उद्योग बन्द भए त्यस अनुपातमा दोस्रो बन्दाबन्दीमा एकदमै कम उद्योग बन्द भए र अधिकांश उद्योग सञ्चालन भए । जहाँसम्म बन्दाबन्दीको स्थिति नआओस् भन्ने हाम्रो चाहना हो । त्यस्तो स्थिति आइहाल्यो भने पनि उद्योग व्यवसाय बन्द नहुने वातावरण हामी निर्माण गर्छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

मूलतः उद्योग प्रवर्द्धनका लागि विभागले उत्कृष्ट काम गरिरहेको छ । त्यस्तो केही फिडब्याक भए हामी जतिबेलै संवादका लागि तयार छौँ । उद्योगी व्यवसायीको सेवा र उनीहरुले गर्ने लगानीका लागि विभाग कुनै पनि कसर नराखी काम गर्न तयार छ । यसका लागि निजी क्षेत्रका संगठनहरुसँग पनि हामीसँग हातेमालोका लागि अनुरोध गर्दछु । हामी सँधैँ सकारात्मक छौँ ।