काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्दै दीर्घकालीन समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको समिति बैठकले आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले आयोजनामा भएको क्षतिपछिको पुनर्निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गर्न र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै याँङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा ल्याउनुअघि त्यस क्षेत्रको जियोलोजिकल र हाइड्रोलोजिकल अवस्थामा विस्तृत अध्ययन गरेर रिपोर्टको आधारमा मात्र दोस्रो चरणको काम अघि बढाउन समितिले सुझाव दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यस्तै बैठकले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो पीडितहरुको उचित व्यवस्थापन, राहत र पुनस्र्थापना गर्न पनि सकारलाई निर्देशन दिएको सभापति खड्काले बताइन्।

बैठकमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको मुहान क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताइन् । आयोजनालाई पुन सुरु गर्नका लागि अध्ययनको तयारी भएपछि तत्काल आयोजना सुरु हुन नसक्ने उनको भनाई छ । उनले पटक पटकको बाढीले मुहान क्षेत्रको अवस्था मर्मत नै गर्न नसक्ने अवस्थामा पुगेको धारणा राखिन् ।

त्यस्तै मेलम्ची आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बाढीका कारण अरवौ बराबरको क्षति भएको भन्दै संरचनाहरुमा भएको क्षति र अनुमानित लागत विवरण आउन केही दिन लाग्ने बताए । प्राविधिक निरीक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकोले मुख्य टनेलमा भने धेरै क्षति भएको नदेखिएको उनको भनाई छ ।

बैठकमा समिति सदस्यहरुले आयोजनाको अवस्थाका बारेमा छिटो अध्ययन गरेर आयोजनालाई सुचारु गर्नुपर्ने तथा पुनःनिर्माणका लागि तत्काल पहल गर्नुपर्ने धारणा राखेका थिए ।