काठमाडौँ– नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफुले सरकारबाट सेवा सुविधा नलिने निर्णय गरेका छन् ।
आफ्नो पदमा नियुक्त भएपछि पहिलो पटक आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कोभिड–१९ नियन्त्रणका बारेमा बोल्ने क्रममा राज्यमन्त्री श्रेष्ठले सरकारले स्वास्थ्य–राज्यमन्त्री स्वरुप आफुलाई उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षाकर्मीको सेवा बाहेकका अन्य पारिश्रामिक तलबभत्ता, आवास तथा सवारी साधन लगायतका कुनै पनि सेवा नलिने जनाएका हुन् ।
यस्तै, उनले मन्त्रालयका जिम्मेवारी सम्हालेपछि व्यक्तिगत व्यवसायिक सहभागिताबाट पर हट्ने निर्णय लिएको समेत जानकारी दिए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जिम्मेवारी सम्हालेपछि मैले व्यक्तिगत व्यवसायिक सहभागिताबाट अलग हुने निर्णय गरेको छु’, उनले भने ।
उनलाई गत साउन १० मा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन् ।